खुल्लामञ्चमा यस्तो बन्दैछ अन्डरग्राउन्ड पार्किङ



काठमाडौं । काठमाडौंको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउन लागेको छ ।

खुल्ला मञ्चको ४१ रोपनी जमिनमा सुविधासम्पन्न पार्किङसहितको ३ तल्ले सव-वे निर्माण गर्न लागिएको महानगरका योजना अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

‘महानगरमा बढ्दै गएको अव्यवस्थित पार्किङ तथा बड्दो फुटपाथ व्यापारलाई नियन्त्रण गर्न महानगरले अन्डरग्राउण्ड पार्किङ निर्माण गर्न लागिएको हो,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

३ अर्ब ५३ करोड रुपैयाँको लागतमा पार्किङ निर्माण गर्न लागिएको उनले बताए । पार्किङ निर्माणका लागि महानगरले प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पारिसकेको छ ।

घिमिरेका अनुसार यो पार्किङ सार्वजनिक-निजी-साझेदारी (पिपिपी) मोडेलमा निर्माण गरिनेछ । बजार, कफिसप र पसलसहितको बेसमेन्ट पार्किङ तथा सब-वे बनाउन सकिने प्रारम्भिक अध्ययनमा उल्लेख छ । 

‘पार्किङको सुलभ व्यवस्था हुन नसकेका कारण न्युरोड, असन, ठमेल, इन्द्रचोक बागबजार लगायत स्थानमा पार्किङका लागि निकै सास्ती हुने गरेको छ,’ उनले भने,- ‘दुःख सुख गरेर बाइक पार्किङ गरिने अवस्था छ । तर चारपाङ्ग्रे गाडीको हालत एकदमै नाजुक छ ।’

खुल्ला मञ्चमा सुविधासम्पन्न पार्किङ वेसमेन्ट निर्माण भएमा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहजिकरणसमेत हुनेछ ।

प्रारम्भिक अध्ययन प्रतिवेनअनुसार माथिल्लो वेसमेन्ट व्यापारिक र तल्लो वेसमेन्ट पार्किङका लागि मात्रै प्रयोग हुने उल्लेख छ । जसमा ९ हजार १ सय ९२ स्क्वायर मिटर व्यापारिक केन्द्रका लागि, ७ सय ९८ चारपाङ्ग्रे गाडी र १५ सय मोटरसाइकल पार्किङ गर्न सकिने उल्लेख छ ।

प्रतिबेदनमा ३ किसिमले बनाउन सकिने प्रस्ताब भएको तर हालसम्म कुन मोडालिटीमा निर्माण गर्ने भन्ने निर्णय भइनसकेको घिमिरेले बताए ।


पुष्प दुलाल