बीमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउन छैन समस्या, कसको पुँजी कति ?



काठमाडौं । बीमा कम्पनीको चुक्ता पुँजी बढाउने तयारी गरेको सात वर्षपछि बीमा समितिले बीमा कम्पनीको चुक्ता पुँजी बढाएको छ ।

बीमा सम्बन्धी ऐनमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको ४ अर्ब पुँजी तोकिएको हल्ला आएपनि अन्तत समिति ऐनमा पुँजी नतोक्ने निर्णयमा पुगेको छ ।

क्लिकमाण्डूसँगको अन्तरवार्ताको क्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँले ऐनमा पुँजी नतोकिने बताएका थिए ।

बीमा समितिका अध्यक्षको अन्तरवार्ता- ‘नयाँ कम्पनीलाई लाइसेन्स त खोल्नै पर्छ नि’

विगत ३ वर्षमा बीमा कम्पनीको सेयर अत्याधिक बढेको छ । अहिले नेपालमा ९ वटा जीवन बीमा कम्पनी र १७ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । जसमा तीनवटा बीमा कम्पनी विदेशी कम्पनीको शाखा रहेको हुँदा पुँजी बृद्धिको निर्णय सेयर बजारमा प्रभाव पर्दैन । जीवन बीमा कम्पनीतर्फ मेट लाइफ इन्स्युरेन्स र निर्जीवनतर्फ नेशनल र ओरियन्टल विदेशी कम्पनीमा शाखा हुन् ।

सेयर बजार कारोबार नहुँने दिन शुक्रबार बीमा समितिले बीमा कम्पनीको पुँजी बढाउने परिपत्र गरेको छ । आइतबार बीमा कम्पनीको चुक्ता पुँजीको असर सेयर बजारमा देखिने छ ।

बीमा समितिको निर्णयअनुसार बीमा कम्पनीले २०७५ सालमा चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ । अहिले संचालनमा रहेका जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्युरेन्सको मात्र चुक्ता पुँजी बीमा समितिले तोकेको भन्दा बढी छ । केही दिनअघि बोनस सेयर पारित गरेर नेपाल लाइफले चुक्ता पुँजी ३ अर्ब ९ करोड पुर्याएको छ । जुन सेयर सेयर बजारमा सूचिकृत हुँन बाँकी छ । यसले हेर्दा नेपाल लाइफको चुक्ता पुँजी नियामकले तोकेको भन्दा १ अर्ब ९ करोड बढी भएको देखिन्छ ।

कम्पनीले गरेको बोनस र हकप्रद घोषणा नहेर्ने हो भने अहिले नेशनल लाइफ, एलआईसीको चुक्ता पुँजी १ अर्बभन्दा बढी छ । जसमा एलआईसीले २४ प्रतिशत बोनस र नेशनल लाइफले सतप्रतिशत हकप्रद सेयर दिने घोषणा गरेका छन् । यस आधारले हेर्दा दुई कम्पनीलाई चुक्ता पुँजी पुर्याउन कुनै समस्या छैन । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी ९३ लाख रुपैयाँ छ । लेखापरिक्षण देखि धेरै कुरा मिल्न बाँकी रहेको छ । सरकारी कम्पनी भएको हुँदा यसलाई चुक्ता पुँजी पुर्याउन कुनै समस्या छैन ।

यस्तै बिहीबार मात्र २० प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको एसियन लाइफको चुक्ता पुँजी अहिले ६७ करोड छ । बोनस र हकप्रदपछि एसियनको चुक्ता पुँजी १ अर्ब २० करोड पुग्छ । सुर्या लाइफको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ भने प्राइम लाइफको चुक्ता पुँजी ४८ करोड छ । जसमा गुरासले ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बीमा समितिले तोकेको पुँजीको आधारमा गुरास र प्राइमले सबैभन्दा बढी चुक्ता पुँजी पुर्याउनुपर्ने हुन्छ ।

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी चुक्ता पुँजी ८१ करोड शिखर इन्स्सुरेन्सको छ । शिखरले थप सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डमा प्रस्ताव गरेको छ । निर्जीवन बीमा कम्पनीमा चुक्ता पुँजी पुर्याउन सबैभन्दा बढी सहज स्थितीमा शिखर रहेको छ ।

दोस्रोमा चुक्ता पुँजी बढी भएको निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्सुरेन्स कम्पनी हो । सगरमाथाले पनि थप सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । एनएलजी इन्स्सुरेन्सले चुक्ता पुँजी ५३ करोड छ । बोनस र हकप्रद ल्याउन सक्ने भएकोले एनएलजीलाई चुक्ता पुँजी पुर्याउन कुनै समस्या छैन ।

यस्तै ३९ करोड १५ लाख चुक्ता पुँजी भएको लुम्बिनी इन्स्सुरेन्सले सतप्रतिशत हकप्रद दिने प्रक्रिया सुरु गरेको छ । यसले हेर्दा लुम्बिनीलाई पनि चुक्ता पुँजीको पुर्याउन कुनै समस्या देखिएको छैन । ३८ करोड पुँजी रहेको हिमालयनले पनि १ सय ६६ प्रतिशत हकप्रद दिने प्रक्रिया अगाडि बढाएको छ । ३८ करोड चुक्ता पुँजी रहेको प्रभु इन्स्सुरेन्सले पनि ५० प्रतिशत हकप्रद सेयर चैत ३० देखि जारी गर्दै छ । ३४ करोड चुक्ता पुँजी भएको सिदार्थले १९.२३ प्रतिशत बोनसको प्रस्ताव गरेको छ । ३२ करोड पुँजी रहेको नेकोले सतप्रतिशत हकप्रद ल्याउदै छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको ३५ करोड ६४ लाख चुक्ता पुँजी रहेको २० प्रतिशत बोनस सेयर कम्पनी यो वर्ष दिएको छ । बोनस वितरणपछि ३० प्रतिशत हकप्रद ल्याउने निर्णय कम्पनीले गरेको छ । यसपछि कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख हुने छ ।

प्रिमियरको चुक्ता पुँजी ३७ करोड रुपैयाँ छ । कम्पनीले ६ लाख ९५ हजार कित्ता थप सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

युनाइटेडको ३० करोड चुक्ता पुँजी छ । नेपाल इन्स्सुरेन्सको चुक्ता पुँजी २८ करोड रहेको छ । २७ करोड चुक्ता पुँजी भएको एनबीले सतप्रतिशत हकप्रद ल्याउन लागेको छ । निर्जीवन बीमा कम्पनीमा सबैभन्दा कम चुक्ता पुँजीमा सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र एभरेष्ट इन्स्सुरेन्स छन् । जसमा राष्ट्रिय बीमा कम्पनीको १२ करोड र एभरेष्टको पुँजी १० करोड छ ।

सेयर बजार कारोबार नहुँने दिन शुक्रबार बीमा समितिले बीमा कम्पनीको पुँजी बढाउने परिपत्र गरेको छ । आइतबार बीमा कम्पनीको चुक्ता पुँजीको असर सेयर बजारमा देखिने छ ।

यो पनि पढ्नुहोस्- बीमा कम्पनीहरुको चुक्ता पूँजी ४ गुणाले बढाइयो


क्लिकमान्डु