पर्यटकीय क्षेत्र सहलकोट ओझेलमा, ५० वटा गुफाको प्रवद्र्धन हुन सकेन्



पाल्पा । प्राकृतिक रुपमा निकै सुन्दर हरियाली डाँडाकाँडाले घेरिएको पर्यटकीय सहलकोट क्षेत्रमा भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकको आकर्षण बढ्न सकिरहेको छैन ।

सदरमुकाम तानसेनदेखि करिब ७२ किलोमिटर पूर्वमा अवस्थित सहलकोट क्षेत्र प्राकृतिक रुपमा भरिपूर्ण छ । भौतिक पूर्वाधार विकास नहुँदा सहलकोट ओझेलमा परिरहेको छ । पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ, उत्तर पश्चिममा स्याङ्जा र पश्चिम सहलकोटको फेँदीमा रामपुर उपत्यका पर्छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे हिमाललगायत दृश्य अवलोकन गर्न सकिन्छ ।

यहाँको हरियाली वनपाखा, प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई मनमोहित पारिरहेको हुन्छ । सहलकोट क्षेत्रकै चिनारी जुरेलेक, घाँगी गुफा गरी यहाँ करिब ५० को हाराहारीमा गुफा रहेका छन् । तर प्रचारप्रसार भने हुन सकेको छैन । स्थानीयस्तरबाट केही प्रयास भए पनि यसको प्रवद्र्धनमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

सुकेकोटमा रहेका गुफाका सम्बन्धमा सरोकारवाला नै बेखबर छन् । सुकेकोट क्षेत्रमा मात्रै मुख्य आठवटा र अन्य कयौँ गुफा भेटिएका छन् । सुकेकोट गाउँभन्दा तलको भागमा चमेरा गुफा रहेको छ । मगर भाषामा घिचिन ओडारका नामले पनि यो  चिनिन्छ । यहाँ विभिन्न प्रजातिका चमेरा पाइने गर्छ । झन्डै पाँच सय मिटरको लम्बाइमा फैलिएको यस गुफाको मुहानबाट पसेर पुछारसम्मको भागमा निस्कन मिल्ने बनोट रहेको छ । गुफाभित्र विभिन्नखालका आकृति देख्न सकिन्छ ।

त्यस्तै चमेरा गुफाभन्दा केही तल घन्टी ओडार गुफा रहेको छ । एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कन मिल्ने घन्टी ओडार गुफाभित्र दुई लाम्चो आकारको ढुङ्गा रहेको छ । त्यस ढुङ्गामा हिर्काउँदा घन्टीको जस्तो आवाज निस्कने हुँदा यस गुफाको नाम घन्टी गुफा रहन गएको स्थानीयवासी श्यामप्रसाद सोती बताउँछन् । यहाँ आउने जो कोहीले पनि ढुङ्गा बजाउने गरेको पाइन्छ । गुफाको लम्बाइ करिब ३० मिटर रहेको छ । गुफाभित्र ५० जनाभन्दा बढी मान्छे बस्न मिल्ने अवस्था छ ।

फ¥याच पहार गुफा घिचिन ओडारको आडमा रहेको छ । यसमा पनि विभिन्न आकृति देख्न सकिन्छ । सुकेकोट गाउँभन्दा तल्लो भाग पहाडले घेरिएका कारण यहाँ असङ्ख्य मात्रामा विभिन्न गुफा रहेका  स्थानीयवासी बताउँछन् । यस क्षेत्रमा पुरानो लाम पहाड गुफा,नाम्सु ख्वाच पहाड गुफा, करङ्चो हुल्मा गुफा,ख्वाच पहाड गुफा र चितुवा मिमडाँडा गुफा रहेको सोतीले बताए ।

‘गुफैगुफाले भरिपूर्ण रहे पनि विकासले गति लिन नसक्दा यस्ता पर्यटकीय गुफाको महत्व बढाउन सकिएको छैन,’ उनले भने। सोतीले यहाँ रहेका अधिकांश गुफाभित्र पसेर अवलोकन गरिसकेको बताए । प्रचारप्रसार हुन नसक्दा पर्यटकको आकर्षण बढ्न नसकेको उनको भनाइ छ  ।

स्थानीयस्तरबाट नै गुफालाई महत्व नदिँदा ओझेलमा परेको स्थानीय बासिन्दा तिलवीर राना बताउँछन् । ग्रामीण सडकमा सुधार नहुनु, गुफा क्षेत्रमा भौतिक पूर्वाधार विकास नहुनु र यहाँ रहेका पर्यटकीय गुफाको विषयमा स्थानीय बासिन्दा, स्थानीय निकाय मौन रहँदा सहलकोट क्षेत्र  ओझेलमा परेको हो । सहलकोटको जुरेमा पनि आठभन्दा बढी गुफा भेटिएका छन् ।

भौतिक पूर्वाधार विकास भएको खण्डमा यस क्षेत्रलाई गुफैगुफाको गाउँका नामले देशमै पहिचान स्थापित गराउन सकिन्छ । जसले गर्दा भविष्यमा यहाँ दिनहुँ ठूलो सङ्ख्यामा पर्यटक भित्रिँदा गाउँमा आम्दानीको स्रोत पनि बढ्दै जानेछ ।