कमोडिटीज विधेयकमा एक मात्र सांसद्को संसोधन प्रस्ताव



काठमाडौं । व्यवस्थापिका संसद्मा दर्ता भएको वस्तु बजार विनियम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एउटा मात्र संसोधन प्रस्ताव दर्ता भएको छ ।

संसद्ले तोकेको समयमा नेकपा एमालेका सांसद् रेवतीरमण भण्डारीले कमोडिटी ऐनमा संसोधन प्रस्ताव दर्ता गरेका छन् ।

विधेयकमा कमोडिटीज एक्सचेन्ज संचालनको लागि न्यूनतम ५० करोड चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

धितोपत्र बोर्डबाट अनुमती नलिएर एक्सचेन्ज संचालन गर्दा ५० लाखसम्म जरिमाना हुन सक्छ । विधेयकको महत्व बुझेर आफुले संसोधन प्रस्ताव दर्ता गरेको सांसद् रेवतीरमण भण्डारीले बताए ।

के छ भण्डारीको संसोधन प्रस्तावमा

भण्डारीको संसोधन प्रस्तावमा वेयर हाउस(गोदाम गृह) संचालन गर्न चाहने कम्पनीको चुक्ता पुँजी ३० करोड राख्नुपर्ने उल्लेख छ । सरकारले पेश गरेको विधेयकमा गोदाम गृह खोल्न सकिने उल्लेख छ । तर,चुक्ता पुँजी उल्लेख गरिएको छैन । भण्डारीले यसको चुक्ता पुँजी ३० करोड राख्नुपर्ने संसोधन प्रस्ताव दर्ता गरेका छन् ।

यस्तै भण्डारी कमोडिटीज एक्सचेन्ज संचालनमा आएको ५ वर्षमा नविकरण गर्नुपर्ने व्यवस्थालाई ३ वर्षमा झार्नुपर्ने संसोधन प्रस्ताव गरेका छन् । विधेयकले कमोडिटीज एक्सचेन्जमा विदेशी लगानी ५१ प्रतिशत गरेमा त्यसलाई ४९ प्रतिशतमा घटाउनुपर्ने भण्डारीको संसोधनमा उल्लेख छ ।


क्लिकमान्डु