धुर्मुस–सुन्तलीको कामले परिवर्तन ल्याएको बस्ती, जहाँ आफ्नो अधिकारको चर्चा सुरु भएको छ




बर्दिवास । “सुनलही माय, आब जल्दिए चुनाव होतौ” (सुन्नुभयो आमा, अब चाँडै चुनाव हुन्छ रे) ध्यानपूर्वक रेडियो कानसम्मै पु¥याएर सुनिरहेकी महोत्तरी बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीकी १३ वर्षीया किशोरी ऐसा सादाले आफ्नी आमासँग भनिन् ।

देश दुनियाँको त कुरै छाडौँ, आफ्नै हक अधिकारबारे पूरै बेखबर रहने मुसहर समुदायमा अब पछिल्लो पुस्ताले आम चासोका विषयमा कुरा गर्नेमा अब ऐसा सादामात्र भने होइनन् । यस बस्तीका किशोर सबैजसो नानी अब रेडियो सुन्ने, सुनिएका कुरा परिवारलाई बताउने र आफ्नो समुदायबारे चासो राख्ने जोसुकैसँग नजिकिएर कुराकानी गर्न खप्पिस हुँदै गएका छन् ।

हिजो शनिबारमात्र सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (एकोराब) का अध्यक्ष सुवास खतिवडासहितको टोलीले यस बस्तीका ५० घरपरिवारलाई रेडियो वितरण ग¥यो । यसअघि पनि घरछिमेकमा पुगेर रेडियो सुन्ने र टिभी हेर्ने गरेका बस्तीका किशोरवयका नानीहरु रेडियो हात पर्नासाथ बजाउन थालेका देखिएका थिए ।
“अपनासब् लेल घर बनायरहल धुर्मुस–सुन्तलीके अमेरिका आ कोरिया स रकम भेट्लैय” (हाम्रा लागि घर बनाइरहेका धुर्मुस–सुन्तलीलाई अमेरिका र कोरियाबाट रकम प्राप्त भएको छ) रेडियोमा समाचार सुनिरहेकी बस्तीकै अर्की १४ वर्षीया किशोरी आरती सादाले समारोहमा धेरैजसोले सुन्ने गरेर भनिन् ।

बस्तीका नयाँ पुस्तामा देखिएको आमसञ्चारप्रतिको आकर्षण र तिनले आफ्ना बाबुआमालाई रेडियोले भनेका खबर सुनाउँदा पुराना पुस्तामा देखिने सन्तोष भावले बस्ती निर्माणमा जुटेका धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) पनि दङ्ग देखिएका छन् । “हामी गत वर्ष हिउँदमा पहिलो पटक आउँदा नाङ्गैभुतुङ्गै भएर नाकभरि सिङ्गानको लत्को देखिने नानीहरु अब देश र दुनियाँका कुरा गर्न लागेका छन्,” धुर्मुसले आँखाका डिलभरि खुसीले उच्छालिएका आँसु पुछ्दै भने – “बस्तीका ७० भन्दा बढी नानी विद्यालय जान थालेका छन्, हामी सन्तोष गर्न सक्छौँ, हाम्रो प्रयत्नले मुसहर फेरिँदो छन् ।”

धुर्मुस–सुन्तलीको बस्ती प्रवेशले मुसहरका लागि पक्की घरमात्र नभएर उनीहरुको शैक्षिक, सामाजिक र नागरिक हकअधिकारबारेको सचेतनासमेत बढेको यस बस्तीलाई नजिकबाट नियाली रहेका पत्रकार एवम् सामाजिक अभियन्ता राजकरण महतोको निष्कर्ष छ । “राज्यबाट पाउनुपर्ने सेवा सुविधा र सामाजिक बेवास्ताबारे पूरै बेखबर रहने मुसहर अब आफ्ना हकअधिकारबारे चासो राख्न थालेका छन्,” पत्रकार महतोले भने–, “बस्तीका ७० भन्दा बढी बालबालिका आफ्ना अभिभावकको स्वीकृतिमै विद्यालय जाँदैछन् । यसले शिक्षाको महत्वबारे मुसहरमा चासो बढेको देखाउँछ ।”

पुस्तौँपुस्तादेखि दिउँसो घामको राप छिर्ने र राति आकाशका तारा देखिने पराले झोपडीभित्र जीवन गुजार्दै आएका यहाँका ५० घरपरिवार मुसहरका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले अहिले बस्ती निर्माण गरिरहेको छ । अब दुई सातापछि नै मुसहर नयाँ घरमा सर्ने तरखरमा छन् ।

सधैँ पराले झोपडीमा जीवन गुजारेका मुसहरका लागि अहिले निर्माणको अन्तिम चरणमा पुगेका सडक, बिजुली, खानेपानी र शौचालय सुविधासहितका पक्की घर ओतको दह्रो प्रबन्धमात्र नभएर मन परिवर्तनको समेत ठाउँ बनेको छ ।

गत हिउँदयता बराबर धुर्मुस–सुन्तलीको सङ्गत, प्रेरणा र उठबस पाएका मुसहर अब समाजमा आइपर्ने सबैजसो सामाजिक कामका मुख्य हिस्सेदार बन्न थालेका बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की बताउँछन् ।


पुष्प दुलाल