अम्बानीको महल र धाराभी सुकुम्बासी बस्तीको अर्थतन्त्र



भारतमा धनी र गरीबबीचको खाडल बढ्दै छ । यो वर्ष फोब्र्समा भारतबाट १ सय १ जना अर्बपतिको सूचिमा परेका छन् । यस्तै सबैभन्दा बढी गरीब भएको देशमा पनि भारत पर्छ । हेरौ कस्तो छ भारतमा धनी र गरीबको जीवनशैलीको अन्तर
प्रसंग १

देशकै सबैभन्दा धनी व्यक्ति आफ्नो ६ जनाको परिवारको लागि २७ तले घर बनाएका छन् । १७५ वटा गाडी पार्क गर्न पुग्ने गरि तलका ६ वटा तल्ला पार्किङका लागि छुट्याइएका छन् । सबैभन्दा माथि छतमा हेलिकप्टरका लागि ३ वटा हेलिप्याड बनाइएका छन् । घरधनी कहिले तलबाट गुडेर र त कहिले माथिबाट उडेर घरमा ओहरदोहर गर्छन् । घरभित्रै कृतिम तरिकाले बनाएको बगैंचाँ छ । र, धेरै पौडी पोखरीहरु छन् ।

सबैभन्दा अनौठो, कृतिम रुपले हिउँ झारेर घरभित्रै चिसो हिउँको आनन्द उठाउन सकिने सुबिधा पनि छ । जिम, स्पा, साउना, जाकुजी आदि त सामान्य नै भैहाले । पुजा पाठको लागि भयंकर मन्दिर पनि बनाइएको छ । भनिन्छ यो घरका प्रत्येक तल्लाका आफ्नै बिशेषता छन् । र, हेरेक तल्ला एक अर्का भन्दा आधारभुत रुपले नै फरक छन् ।

घरमा तलमाथि गर्न ९ वटा त एलेभेटर मात्र छन् । परिवार र पाहुनापासाका मनोरञ्जनका लागि ५० सिटे सिनेमा हल छ । ६ जना परिवारका सदस्य र पाहुनाहरुका सेवा सुबिधाको लागि ६ सय जना नोकरचाकर र कर्मचारीहरु खटिएका छन् ।

भनिन्छ, यो घर बनाउनका लागि १ अर्ब अमेरिकी डलर खर्चभएको थियो ।

यस घरका बारे धरै तथ्यहरु सार्वजनिक गरिएका छैनन् । तर, केहि रिर्पोटहरुले यस घरको कुल क्षेत्रफल (बसोबास गर्न मिल्ने) करिब ४ लाख बर्ग फिट रहेको अनु्मान गरका छन् । ६ जना बस्न ४ लाख बर्ग फिट (करिब ७२ रोपनी) को घर । त्यो पनि अत्यन्तै धेरै आबादी भएको सहरमा !
प्रसंग २

२ बर्ग किलोमिटरको क्षेत्रफलमा करिब ७ लाख मानिस बस्छन् । यस हिसाबले जन घनत्व २ लाख ७७ हजार १ सय ३६ प्रति बर्ग किमी हुन आउँछ । यो भनेको पृथ्वीकै सबैभन्दा घना आबादी हो ।

मुस्किलले दुईजना ओहरदोहर गर्न मिल्ने साँघुरा गल्लीहरु, र होचा र टीनको छाना भएका खिनौरा छाप्राहरु यहाँका भौतिक संरचनाहरु हुन् ।
यहाँ धेरै धर्म, जाती, भूगोल र बर्णका मानिसहरु बस्छन् । गाउँबाट सहर भर्खरै पसेका र सहरमा जेनतेन जिवन धान्ने सबैको रोजाई वा बाध्यता हो, यो बस्ती । एक जनाको लागि मासिक भाडा ५०० भारु मात्रै पर्छ ।

घना आबादीका कारण बेलाबेलामा महामारी र सरुवा रोगले यस बस्तीका धेरै मानिसको ज्यान लिने गर्छ । आधारभुत जनस्वास्थ्यका धेरै समस्याहरु छन् । चर्पीहरु निकै थोरै छन् । र, एकदमै फोहर र भत्केका कारण भित्र जान असुरक्षित समेत छन् ।

बस्ती नजीकैको खोला पिसाब फेर्ने ठाउँ भएको छ । खुला दिसा पिसाबका कारण भएको पानी र वायू प्रदुषणका कारण यहाँका धेरै मानिसहरु फोक्सोको क्यान्सर, टिबी, दम लगायत रोगहरुबाट ग्रसित छन् ।

प्रसंग नं १ भारतकै सबैभन्दा धनी र बिश्वको १४ औं धनी मुकेश अम्बानीको घर हो । उनी बिगत १० बर्ष देखि निरन्तर फोब्र्सको अर्बपति सूचीमा पर्दै आएका छन् । साथै, उनी बिश्वकै ३८ औं शक्तिशाली ब्यक्तिका रुपमा पनि सूचीकृत भएका छन् । उनीसँग हाल २७ अर्ब अमेरिकी डलर बराबर सम्पत्ती रहेको बताइन्छ ।

प्रसंग नं २ एसियाको दोस्रो ठूलो र बिश्वको तेस्रो ठूलो सुकुम्बासी बस्ती धाराभी हो ।

यी दुई आवासमा आकास जमिनको फरक छ । पहिलोमा एक परिवार मात्र बस्छन्, दोस्रोमा लाखौं परिवार बस्छन् । पहिलोमा मान्छेले किन्न सक्ने र भोग्न सक्ने सारा सेवा सूबिधाहरु उपलब्ध छन् । दोस्रोमा मुस्किलले खुट्टा पसारेर सम्म सुत्न पुग्ला । पानी परेर छानो चुहीँदा कुनै कुनामा टुक्रुक्क बसेर रात गुजार्नुको बिकल्प छैन ।

तर, यी दुईमा केहि समानता पनि छन् । पहिलो, दुवै भारतको आर्थिक राजधानी मुम्बइमा अवस्थित छन् । मुकेशको घरको माथिल्ला तलाहरुबाट पुरै धाराभी प्रष्टै सँग देखिन्छ । धाराभीमा बस्नेहरुले पनि मुकेशको घर टड्कारै देख्छन् । खुकुलो टोपी छ भने बरु खस्न सक्ला !
दोस्रो, दुवै आवास अर्बपति हुन् । डलरको अर्बपति !

मुकेश आफ्ना बाबु धिरुभाइ अम्बानीले जग हालेर हुर्काएको र उनी आफैंले पनी आफ्नो रगतपसिना एक गरेर थप उकासेको कम्पनी रिलायन्स इन्डष्ट्रिजको माध्यमबाट अर्बपति भएका हुन् ।

उनको कम्पनीको ब्यवसाय पेट्रोलियम देखि ग्याँस, टेक्सटाइलस, खुद्रा ब्यापार, दुरसञ्चार, आम सञ्चार, सुरक्षा सेवा लगायतसम्म फैलिएको छ । रिलायन्सले बार्षिक ४४ अर्ब डलरको कारोबार गर्छ । सन् २०१६ मा मात्र कम्पनीले ४.१ अर्ब डलर खुद नाफा कमाएको थियो । यहाँ २४ हजार ९ सय ३० कर्मचारी काम गर्छन् ।
मुकेश अर्बपति हुनुमा उनको बाबुको दुरदृष्टि र उनको मेहेनत र परिश्रमका अलावा भारतले अंगीकार गरेको उदारबादी अर्थब्यवस्थाको पनि हात छ ।

अर्को शब्दमा भन्दा, भारतीय उदारबादी ब्यवस्थाले पुल्पुल्याएर हुर्काएको अर्बपनि हुन् मुकेश अम्बानी । भारतले सन् १९९० मा अंगीकार गरको उदार अर्थब्यवस्थाको बुलेट ट्रेन चढेर मुकेश अम्बानी भारतको सबैभन्दा धनी ब्यक्ति बन्न पुगे ।

तर, धाराभीका ७० लाख मान्छेले त्यो बुलेट ट्रेन चढ्न पाएनन् । उनीहरु प्लेटर्फममै छुटे । उनीहरुलाई भारतीय उदारबादले पुल्पुल्याएन, बरु लात्ताले हानेर किनारामा धकेलिदियो ।

तर, जिवन र पानी कसैले छेकेर के छेकिन्थ्यो र ! त्यहि बुलेट ट्रेन चल्ने ट्र¥याकमा उनीहरुले आफैंले बनाएको ‘बेलगाडी’ कुदाउन थाले । उनीहरुले पनि आफ्नै अनौपचारीक अर्थब्यवस्था बनाए । उनीहरु माटाका भाँडा बनाउने, कपडा बुन्ने, फोहर ब्यवस्थापन गर्ने, रिसाइक्लिङ गर्ने लगायत काम गर्छन् । यहाँ २ लाख ५० हजार जनाले रोजगारी पाएका छन् । यहाँ ५ हजार बिभिन्न ब्यवसाय र १५ हजार एक कोठे उद्योगहरु छन् ।

धाराभीले बिदेशमा पनि आफ्ना उत्पादनहरु निर्यात गर्छ । यसमा गरगहना, छालाका उत्पादनहरु, लुगाहरु आदि समावेश छन् । अमेरिका, युरोप र मध्यपूर्वी देशहरुमा धाराभीमा उत्पादनहरु बिक्रि हुन्छन् । यहाँको कुल कारोबार (अधिकाशं अनौपचारीक अर्थतन्त्रको माध्यमबाट) बार्षिक १ अर्ब डलरसम्म भएको अनु्मान गरिन्छ । प्रति ब्यक्ति आय २ हजार डलरसम्म भएको अनुमान छ ।

बास्तवमा जिवन निकै चञ्चल र बृहत छ । राजनीति र अर्थशास्त्रका कुनै अमुक दर्शनले जिवनको ब्यापकतालाइ सायदै सबै समेट्लान् । नेपालका ठूला कम्युनिष्ट नेता मनमोहन अधिकारी भन्थे रे,‘जिवन सप्तरङ्गी हुन्छ, अनी राजनीतिक दर्शनको रङ मात्र खैरो ।’

मुकेश, उनका लाखौं सेयरधनी र उनको कम्पनीको सफलतामा थपडी बजाउने र धाराभीको पिँडा र कष्ट प्रति आँखा निम्लने पूँजीबादी अर्थशास्त्रीहरु र त्यही पिँडा तिर मात्र औंला सोझ्याएर उनीहरु आफैंले बनाएको १ अर्ब डलरको ‘अर्थतन्त्र’ र मुकेश अम्बानीले गरेका सृजना, उत्पादनहरु, रोजगारी सृजना लगायत उपलब्धीहरुमा पिठ्युँ फर्काउने समाजबादी अर्थशास्त्रीहरुको दर्शनको साँचोमा मानव जिवन कहिल्यै अटाउने छैन ।


क्लिकमान्डु