सस्तो भयो मोवाइल सेवा, अब खुलेर गर्नुहोस् कुरा



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको पल्स अवधि घटाएको छ । टेलिफोन सेवाप्रदायकलाई ग्राहकले कुरा गरेको समय अवधि भन्दा धेरै पैसा तिर्नु परेकाले पल्स अवधि घटाउन लागेको प्राधिकरणले जनाएको छ ।

यसका लागि प्राधिकरणले ०७४ बैशाख १ गतेदेखि लागु हुनेगरी पल्स अवधि घटाउन सबै सेवाप्रदाय टेलिफोन कम्पनीलाई परिपत्र जारी गरिसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले क्लिकमाण्डूलाई बताए ।

प्राधिकरणको नयाँ नियमअनुसार ग्राहकका लागि अब १० सेकेन्ड बराबरको पल्स अवधि कायम हुनेछ । हाल २० सेकेन्डबराबरको पल्स अवधि रहेको छ ।

के हो पल्स ?

पल्स अवधि भनेको सेवाप्रदायकले फोन कलका लागि उपलब्ध गराएको निश्चित मापदण्ड हो । हाल नेपालमा २० सेकेण्डको पल्स अवधि छ । एक सेकेण्डको सुल्क र २० सेकेण्डको शुल्क एकै हुन्छ । पल्स अविध जति लामो हुन्छ, ग्राहकले तिर्नु पर्ने सबै त्यति अधिक हुन जान्छ । अब लागु हुने १० सेकेण्डको पल्स अवधिले ग्राहकको टेलिफोन कल पहिलाको भन्दा सस्तो हुन जान्छ ।

यस्तो छ बैशाखदेखि लागु हुने पल्स अवधि

टेलिकमको ल्याडलाईन फोन (पीएसटीएन) ६० सेकेण्ड, मोबाइल फोन १० सेकेण्ड र अन्तराष्ट्रिय कल ३० सेकेण्डको हुनेछ ।

मंसिरदेखि लागु हुने पल्स अवधि

टेलिकमको ल्याडलाईन फोन (पीएसटीएन) ६० सेकेण्ड, मोबाइल फोनमा कल अनुसारको पल्स अवधि र अन्तराष्ट्रिय कलमा १० सेकेण्डबराबरको पल्स अवधि हुनेछ ।

नयाँ व्यवस्थाअनुसार आगामी कात्तिकपछि सबै टेलिफोन कम्पनीका ग्राहकले आफुले फोनमा कुरा गरेको समयको मात्र पैसा तिर्नु पर्ने हुन्छ ।

भिन्नाभिन्नै टेलिफोन कम्पनीको प्रतिमिनेट कल शुल्क भने फरकफरक छ । पल्स अवधि घटेपनि प्रतिमिनेट कलको शुल्क भने कम्पनीको नियम अनुसार रहने छ ।


पुष्प दुलाल