विश्वका अर्बपति बारे ६ तथ्य



सन् २०१६ मा संसारका डलर अर्बपतिहरुको कुल सम्पत्ती ६.४८ ट्रिलियन डलर थियो । सूचीलाई चल्तीका अर्बपतिहरु बिल गेट्स (७५ अर्ब), अमान्सियो आर्टेगा (६७ अर्ब) र बारेन बफेट (६०.८ अर्ब) ले नै टपेका छन् ।

तर, यो सूचीलाइ अलि गहिरिएर हेर्ने हो भने धेरै अनौठा तथ्यहरु उजागर हुन्छन्, जसका बारे सायद तपाईंलाई कहिल्यै थाहा थिएन ।

अर्बपति बस्ने स्थान

धेरै अर्बपतिहरु उत्तर अमेरिकामा भन्दा एसिया र युरोपमा बस्ने गर्छन् । उत्तर अमेरिकामा ६०९ जना अर्बपतिहरु बस्छन् भने युरोप र एसियामा क्रमशः ७७५ र ७१४ जना अर्बपतिहरु बसोबास गर्छन् । यस्तै सहरहरुको कुरा गर्दा सबैभन्दा धेरै अर्बपतिहरु न्युर्योकमा बस्ने गर्छन् । त्यहाँ १०३ जना अर्बपतिहरु बस्छन् । न्युर्योक पछि अर्बपतिहरुको दोस्रो रोजाइको सहर मस्को देखिएको छ । मस्कोमा ८५ जना अर्बपति बस्छन् । हङकङ, लण्डन र बेइजिङमा क्रमशः ८२, ७२ र ३७ जना अर्बपतिहरु बस्छन् ।

कुन राशीका कति अर्बपति

अधिकाशं अर्बपतिहरुको राशी कुम्भ देखिएको छ । सन् १९९६ देखि २०१५ सम्म फोब्र्सको टप १०० मा परेका १२.५ प्रतिशत अर्बपतिहरुको राशी कुम्भ रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः बृष र मकर छन् । बृष र मकर राशी भएका अर्बपतिहरुको प्रतिशत १०.३ र १० रहेको छ ।

 

भगवान पनि अर्बपति !

संसारको ५२७ औं अर्बपतिको नाम गड (भगवान) निशानोभ रहेको छ । उनी रसियन हुन् । र, होटेल, सपिङ मल जस्ता पूर्वाधाहरु बनाएर अर्बपति बनेका हुन् ।

अर्बपतिको पढाई कति

अधिकाशं अर्बपतिहरु कलेज वा स्कुल ड्रपआउट हुन्छन् भन्ने भनाई निकै चल्तीमा छ । माइक्रोसफ्टका बिल गेट्स र फेसबुकका मार्क जुकर्बगलाई हेरेर मासिहरुले यस्तो अनुमान लगाएका हुन सक्छन् । तर, यर्थाथमा धेरै अर्बपतिहरुले ब्याचलर वा सो भन्दा धेरै पढेका छन् । १४ प्रतिशत अर्बपतिहरु मात्र कलेज भन्दा कम पढेका छन् । ५२ प्रतिशतले ब्याचलरसम्म , २७ प्रतिशतले मास्र्टससम्म र ७ प्रतिशतले पिएचडिसम्म पढेका छन् ।
अर्बपतिको बालबच्चा कति

अर्बपतिहरुले धेरै बच्चा जन्माउने गरेका छन् । बिश्वका धेरै देशहरुमा जोडीले औसतमा २ वटा बच्चा जन्माउने गरेका छन् । तर, अर्बपतिहरुले भने त्यो भन्दा निकै धेरै बच्चा जन्माउने गरेका छन् । दुई तिहाई अर्बपतिहरुको घटिमा ३ जना बच्चा रहेका छन् । २१ प्रतिशत अर्बपतिहरुको ५ जना भन्दा धेरै बच्चा छन् । यस्तै १७ प्रतिशत अर्बपतिहरुका ४ जना बच्चा छन् ।

बच्चापनि अर्बपति

दुई अर्बपतिहरु अमेरिकामा रक्सी खाने उमेर नपुगेका पनि छन् । सन् २०१६ मा अर्बपतिहरुको औसत उमेर ६७ बर्ष छ । नर्वेका दुई अर्ब दिदी बहिनीको उमेर १९ र २० बर्ष छ । उनीहरु अमेरिकामा वैधानिक रुपले रक्सी पिउन पाउँदैनन् । तर, नर्वेमा भने उनीहरुलाई यो समस्या छैन् । उनीहरु आफ्ना आमा बाबुले पारिवारिक लगानी फर्मको ४२ प्रतिशत हिस्सा नामसारी गरिदिएपछि हालसालै अर्बपतिको सूचीमा चढेका हुन् ।


क्लिकमान्डु