खाडीका ६ देश र मलेसियामा सरकारको घुम्ती शिविर



काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विदेश पुगेको नागरिकको समस्या समाधानका लागि भन्दै घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार मलेसिया लगायतका खाडीका देश कुवेत, साउदी, कतार, युएई, बहराइन र ओमानमा घुम्ती शिविर सञ्चालन गर्ने तयारी भएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरेर सञ्चालन गर्न लागिएको घुम्ती शिविरमा विभिन्न कार्यालयको टोली सहभागी हुने उनले बताए ।

टोली उक्त देशमा गइ लामो समयदेखि पैसाका कारण नेपाल आउन नसकेको नेपालीको उद्धार गर्दै नेपाल ल्याउन समेत सहयोग गर्नेछ । टोलीले विभिन्न सहरमा पुगेर लामो समय देखि सम्पर्कमा आउन नसकेको नेपालीको खोजतलास समेत गर्नेछ ।

शिविरमा श्रम स्वीकृति, बीमा नविकरण, कल्याणकारी कोषमा रकम जम्मा गर्न, पासपोर्टको फारम बुझाउन र ट्राभल डकुमेन्ट बनाउन सकिने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सरकारले ल्याएको नयाँ नियम कार्यन्वयन र विदेशमा कार्यरत नेपालीलाई परेको समस्या समाधानको लागि शिविरले सहयोग पुग्ने विश्वास उनको छ ।

विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई वैधानिक बनाउन सहयोग पुग्ने छ भने त्यहाँ कार्यरत नेपालीको समस्या पहिचान गर्न सहज हुने प्रधानमन्त्री कार्यालयको भनाई छ ।


पुष्प दुलाल