अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीस्थल बनाउने निर्णय आजकै क्याविनेटबाट हुन्छ: प्रचण्ड



 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तराष्ट्रिय व्यापार प्रदर्शनी स्थल बनाउन आफू गंभिर भएको बताएका छन् ।

निजी क्षेत्रले अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थलको माग गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारे नीतिगत निर्णय लिने बताए ।

‘तपाईँहरुले जुन गंभिरताका साथ प्रदर्शनीस्थल बनाउन चोभारको जमिनको कुरा उठाउनु भएको छ,’ छैठौं नेपाल–अन्तराष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै प्रचण्डले भने- ‘म त्यति नै गंभीरताका साथ आज बस्ने क्याबिनेटबाट नीतिगत निर्णय गरेर काम अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

नीतिगत निर्णय गर्दै व्यवहारिकरुपले अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी गर्ने ठाउँ बनाएर आफूले त्यसको उदघाटन गर्न पाए ठूलै काम हुने उनले बताए ।

आर्थिक विकासले गति लिन सकेन भने देशमा राजनीतिक स्थायित्व हुँदैन भन्ने कुरा आफूलाई राम्रो सँग थाहा भएको प्रचण्डले दोहोर्याए । त्यसैले आर्थिक विकासमा सरकार निकै सचेत रहेको उनको भनाई थियो ।

आफू र आफूले नेतत्व गरेको दल नितान्त फरक पृष्ठभूमिबाट आएको हुनाले निजी क्षेत्रले विभिन्न शंका उपशंका गर्नु स्वभाविक भएको उनले बताए । तर आफू पूर्णरुपमा निजी क्षेत्रमैत्री भएको प्रचण्डले बताए ।

‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा सबैभन्दा बढी सहकार्य र अन्तक्रियउा निजी क्षेत्रसँग नै गरेँ, आर्थिक विकासका सवालमा निजी क्षेत्रलाई मेरो सरकारको पूर्णसहयोग रहनेछ,’ उनले भने ।

सरकार आवश्यक एनेका कानून पारित गर्ने काममा सरकार निरत्नर लागि परेको उनले सुनाए ।

प्रधानमन्त्री प्रचण्डले विदेशी सहभागीहरुले प्रयोग गरेको प्रविधिबाट सिक्न नेपाली उद्यमीहरुलाई आग्रह गरे । मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्डलगायतका विभिन्न देशहरु सहभागि भएका छन् ।


पुष्प दुलाल