भारतमा चट्याङ पर्दा नेपालमा लोडसेडिङ, के गर्दैछन् कुलमान ?



काठमाडौं । गतरातीदेखि राजधानीलगायतका विभिन्न ठाउँहरुमा लोडसेडिङ भइरहेको छ । हिउँदभरी लोडसेडिङ नभएकाले क्याण्डिलसमेत नकिनेका उपभोक्ताहरुलाई निकै अफ्ठ्यारो परेको छ ।

अहिले नेपालमा लोडसेडिङ भएको नेपालका कारण होइन । भारतका कारण हो । भारतीय सरकार वा अन्य भारतीय अधिकारीहरुको अवरोध भएर नेपालमा लोडसेडिङ भएको पनि होइन ।

भारतको मुजफ्फरपुरमा चट्याङ पर्दा नेपालले लोडसेडिङको समस्या भोग्नु परेको हो । मुजफ्फरपुरमा परेको चट्याङका कारण लाइटनिङ एरेस्टर बिग्रँदा नेपाल आउने १ सय ५० मेगावाट बिजुलीको प्रशारण अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

‘गएरातिदेखि मुजफ्फपुर हुँदै भारताट आयात हुने बिजुली पूर्णरुमिा अवरुद्ध भएको छ । हामी सुचारु गर्ने प्रयास गरिरहेका छौं,’ प्रवक्ता अधिकारीले क्लिकमाण्डूसँग भने ।

के गर्दैछन् कुलमान ?

नेपाल विद्युत प्राधिकरणले भारतीय पक्षलाई मुजफ्फरपुर प्रसारणलाई निर्माणका लागि आग्रह गरेको छ । त्यतिमात्रै होइन, अन्य क्षेत्रबाट बिजुलीको आयात बढाउन तयारी पनि गरिरहेको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

त्यसैगरी, नेपालमा पानी परेकाले वर्षाले खोलाहरुमा पानीको सतह बढेको छ । जसले विद्युतको उत्पादन पनि बढाएको छ । विद्युतको उत्पादन बढेपछि आयातमा अबरुद्ध भएपनि ठूलो मात्रामा लोडसेडिङ भने हुने छैन ।

नेपालमै पनि कतिपय ठाउँमा हावाहुरी, बर्षा र चट्याङका बिजुली अवरुद्ध भएको छ । अहिले धमाधम त्यसको मर्मतकार्य भइरहेको छ ।


पुष्प दुलाल