बीजी मलमा बीएसआर मुभिज सञ्चालन



काठमाडौं। गोंगबुस्थित बीजी मलमा बीएसआर मुभिज सञ्चालनमा आएको छ । पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल सञ्चालन ल्याएको हो ।

बीजी मलको आन्तरिक व्यवस्थापनमा सुरु भएको बीएसआएर मुभिजको बिहीबार बरिष्ठ कलाकार नीर शाह, बीजी मलका अध्यक्ष बासु गिरीले संयुक्त रुपमा उद्घाटन गरे ।

बरिष्ठ कलाकार नीर शाहले गोंगबु क्षेत्रमा भएको बसोबासको चापले यो क्षेत्रमा सञ्चालित सिनेमा हलको व्यवसाय सफल हुने विश्वास गरे । आधुनिक प्रविधि भित्र्याएका कारण पनि बीएसआर मुभिजको बेग्लै महत्व दर्शकमा रहने उनको भनाई थियो ।

मलका अध्यक्ष गिरीले मनोरञ्जनको क्षेत्रमा चलचित्रको ठुलो हिस्सा रहेको भन्दै नयाँ प्रविधिबाट बीएसआर मुभिजले नेपाली चलभित्र बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आएका दुईवटा हलहरु मध्ये अटमस वानमा एक सय ५० जना दर्शक क्षमता रहेको छ भने अटमस टूमा एक सय ४० गरी एक पटकमा दुई सय ९० जना दर्शकले चलचित्र हेर्न सक्ने छन् ।

‘फिल द थ्रिल, फिल एव्रि डायमेन्सन’ भन्ने नाराका साथ व्यवशायीक यात्रा सुरु गरेको बीएसआर मुभिजको अटमस वान हल बीजी मलको पाँचौ तल्लामा छ भने अटमस टू मलको छैठौं तल्लामा रहेको मलले जनाएको छ।


क्लिकमान्डु