नेप्से सूचक १२९९ मा झर्यो



काठमाडौं । मंगलबार नेप्से परिसूचक १३.५७ अंकले घटेर १२९९ मा आइपुगेको छ । गत साताभर ३१.७९ अंकले घटेको नेप्से, यो साताको कारोबारको पहिलोे दिन आइतबार पनि २४.४५ अंकले घटेको थियो ।

साताको कारोबारको दोस्रो दिन नेप्सेमा खासै ठूलो उतारचढाव भने आएन । कारोबार शुरु हुने बित्तिकै निरन्तर घटिरह्यो । तर, कारोबार रकममा भने ठूलो बढोत्तरी भएको छ । आइतबार कुल २५ करोड ६९ लाख कारोबार भएकोमा मंगलबार दोब्बरले बढेर ५४ करोड ४५ लाखको कारोबार भएको छ ।

बैंकहरुमा लगानी योग्य पूँजी (तरलता) को अभावसँगै बियरिस ट्रेन्डमा देखिएको नेप्से परिसूचक अझै थामिन सकेको छैन । सरकारले घोषणा गरेको निर्वाचनले बजार एक दुई दिन तताए पनि नेप्सेले बुलिस ट्रेण्ड भने समात्न सकेको छैन ।

सो भन्दैमा लगानीकर्ता सेयरबजारमा धेरै नै उदासीन भएका भने छैनन् । हालै कृषि बिकास बैंकको सेयर लिलामी र नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा देखिएको उत्साहले पनि लगानीकर्ताको उत्साह पुष्टि गर्छ ।

तर, अधिकांश ठूला लगानीकर्तालाई ऋण लिन पहिलेको तुलनामा गाह्रो भएको र उनीहरु पर्ख र हेरको मुडमा रहेका हुनाले बजार तत्काल बढ्न सकेको छैन । बिस्तारै सहज हुँदै गइरहेको तरलता सँगै बजार आगामी महिनाहरुमा उक्लदैं जाने देखिन्छ ।

मंगलबार १३२ कम्पनीको १२ लाख २९ हजार ६ सय ५९ कित्ता सेयर कारोबार भएको छ । जलबिद्युत बाहेक सबै उप सूचकहरु घटेका छन् । जलबिद्युत ४.८८ अंकले उक्लेको छ भने बैंकिङ् १३.५७ अंक, होटेल ५०.२५ अंक, बिकास बैंक ९.८५ अंक, बित्त ३.३६ अंक, बिमा ११४.०७ अंक र अन्य ४.३३ अंकले घटेका छन् । उत्पादन उप समूहको आज कुनै कारोबार भएन ।

मंगलबार नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ११ करोड ४८ लाख रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, महालक्ष्मी बिकास बैंकको ७ करोड ९० लाख, कुमारी बैंकको ३ करोड २१ लाख र शिखर इन्स्योरेन्सको १ करोड ६९ लाख रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार नेरुडे लघुबित्त र नेशनल हाइड्रोका लगानीकर्ताले क्रमशः ६.५८ र ४.३१ प्रतिशतले कमाएका छन् । यस्तै साहारा बिकास बैंकका लगानीकर्ताले ४.०२ प्रतिशत र हाम्रो बिकास बैंकका लगानीकर्ताले ३.७७ प्रतिशतले कमाएका छन् ।
सिन्धु बिकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.७७ प्रतिशतले गुमाएका छन् ।

यस्तै, रिलाएबल माइक्रोफाइनान्सका लगानीकर्ताले ७.६४ प्रतिशत र सिनर्जी फाइनान्सका लगानीकर्ताले ६.०६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल