नेपाल र केन्याबिचको क्रिकेट खेलको टिकटिङ इसेवामा



काठमाडौं । अन्तराष्टिय क्रिकेट परिषद (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यहि फागुन २८ गते शनिबार र ३० गते सोमबार आयोजना हुने नेपाल र केन्याबीचको खेलको टिकट विक्री तथा व्यवस्थापनका लागि आइसीसीले इसेवालाई नियुक्त गरेको हो ।

आईसीसीले टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक पनि सम्पूर्ण टिकट अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था इसेवाले मिलाएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको वेबसाइट मा लग अन गरि टिकट खरिद गर्न सकिनेछ । सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको छ । मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

दर्शकले अनलाइनमार्फत स्वयं आफै वा पायक पर्ने नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन/इसेवा जोन, इसेवा पोइन्टमा गई अनलाइन टिकट खरिद गर्न सकिने इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए । उपत्यकामा मात्र इसेवाका करिब ५ हजार र नेपालभर २० हजार जोन पोइन्ट रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु