बैंक लकरमा बन्दुक राख्ने ल्यारक्याललाई बैंकिङ क्षेत्रको समस्या समाधान गर्ने जिम्मा



काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभिन्न विवादमा मुछिएका सांसद ल्यारक्याल लामासहितको संसदीय उपसमिति गठन भएको छ ।

व्यवस्थापिका सांसद अन्तगर्ततको अर्थ समितिको मंगलबार बसेको बैठकले यस्तो कमिटि गठन गरेको हो ।

अर्थ समितिले गठन गरेको उपसमितिमा सांसदहरु दिपक कुईँकेल, ल्यारक्याल, सीपी मैनाली, गोपाल दहित, ओमदेवी मल्ल र रेवतीरमण भण्डारी छन् ।

कुईँकेल यसअघि समितिले नै गठन गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) सम्बन्धी उपसमितिको संयोजक थिए । उनी संयोजक भएको समितिले नै राष्ट्र बैंकले हटाउन खोजिरहेको कार्यकारी अध्यक्षको प्रावधान राखेको थियो ।

ल्यारक्यालले बैंक लकरभित्र बन्दुक  र गोली राखेको भेटिएपछि उनी ठूलो बिबादमा तानिएका थिए । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले लामाको नेपाल इन्भेष्टमेन्ट बैंकमा भएको लकर खोल्दा गोली भेटिएको थियो । लामाको वास्तविक नाम खेन्पो छिमे छिरिङ हो ।

तर, लामालाई अदालतले सफाई दिइसकेको छ ।  लामालाई एमाले नेता झलनाथ खनालले आफु प्रधानमन्त्री हुँदा अर्थराज्यमन्त्रीसमेत बनाएका थिए ।

अर्थ समितिमा पूर्वअर्थमन्त्री तथा विज्ञ सांसदहरु हुँदा हुँदै समितिले बैंकि क्षेत्रको समस्या समाधान गर्न राम्रोसँग बैंकिङ बुझ्न नसक्ने सांसदहरुको उसमिति गठन गरेको हो ।

अर्थ समितिमा डा. रामशरण महत, सुरेन्द्र पाण्डे, भरतमोहन अधिकारी, शक्ति बस्नेतलगायतका नेताहरु पनि छन् ।

यो पनि पढ्नुहोस्- ल्यारक्याल लामाले भने- चर्को व्याजदर लिने बैंक बन्द गर्नुपर्छ 

 


पुष्प दुलाल