लक्ष्यभन्दा २१ अर्ब बढी उठ्यो राजस्व




काठमाडौं । सरकारले गत माघ महिनासम्ममा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । माघसम्ममा सरकारले लक्ष्यभन्दा ७ प्रतिशत बढी राजस्व उठाएको हो ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार गत माघसम्ममा २ खर्ब ९८ अर्ब ९८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा सो अबधिसम्ममा ३ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ राजस्व उठेको छ । यो राजस्व असुली लक्ष्यको ६.७४ प्रतिशतले बढी हो ।

सरकारले गत बर्षको लक्ष्यभन्दा पनि बढी राजस्व उठाएको छ । गत बर्ष सरकारले उठाउने लक्ष्य लिएको भन्दा करिब २७ प्रतिशतले बढी राजस्व उठेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

यो अबधिमा निकासीमा लाग्ने भन्सार महसुल भने लक्ष्यको तुलनामा निकै कम उठेको छ । गत माघ मसान्तसम्ममा निकासी महसुल लक्ष्यको १३.३९ प्रतिशत मात्रै असुली भएको छ । यस्तै अन्य आय पनि लक्ष्यको ६७.४४ प्रतिशत मात्रै उठेको छ ।

यो बिचमा मूल्य अभिबृद्धि कर (भ्याट) पनि लक्ष्य अनुसार असुली हुन सकेको छैन । सरकारले माघसम्ममा उठाइ सक्ने भनेको भ्याटको ९८.९१ प्रतिशत मात्रै उठाएको छ । यस्तै स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर पनि लक्ष्य अनुसार उठेको छैन । ब्याज कर पनि लक्ष्यको ८०.५८ प्रतिशत मात्रै उठेको छ ।


क्लिकमान्डु