राम्रो काम गरेको भन्दै मेलम्ची आयोजनालाई एडिबीले दियो पुरस्कार




काठमाडौं । राजधानीबासीलाई खप्नै नसक्ने गरी धुलो खुवाए पनि राम्रो नतिजा दिने गरि काम गरेको भन्दै मेलम्ची खानेपानी आयोजना, काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड लगायत परियोजना पुरस्कृत भएका छन् ।

राजधानीमा आयोजित एसियाली बिकास बैंकको परियोजनाहरुको समिक्षा बैठकमा यी दुई लगायत अन्य परियोजनाहरु समेत पुरस्कृत भएका हुन् ।

एडिबीका नायव महानिर्देशक दिवेस शरणले भूकम्प र नाकाबन्दीका बाबजुद सबै प्रोजेक्ट टिमहरुले उदाहरणीय काम गरेका बताए । ‘नेपालमा एडिबिको लगानीको पोर्टफोलियोमा निकै सुधार आएको छ ’ उनले भने ।

सन् २०१६ मा नेपालमा एडिबीको लगानी मध्ये करिब ३६ करोड रुपैंयाँ बराबर ठेक्काको काम (कन्ट्राक्ट अवार्ड) सम्पन्न भएको छ । २० करोड रुपैंया निकासा समेत भइसकेको छ । यो एडिबीको नेपालमा हालसम्मकै एतिहासिक उपलब्धी हो ।

तर, नेपालमा हुने ठेक्का पट्टाको ढिलासुस्ति, योजना कार्यान्वयनमा तत्परताको कमि लगायतका कारण अझै ८८ करोड रुपैंयाँको योजनाको ठेक्काको काम हुन सकेको छैन भने १ खर्ब ३ अर्ब रुपैंयाँ निकासा हुन सकेको छैन । नेपालमा हाल एडिबीको कुल २ खर्ब रुपैंयाँको लगानी पोर्टफोलियो रहेको छ ।

एडिबीका कन्ट्रि डाइरेक्टर केनिची योकोयामाले योजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका हुने हुनाले नेतृत्व छनोटमा बिशेष जोड दिए । सरकारले छान्ने योजना प्रमुखहरु प्रति संकेत गर्दै योकोयामाले भागबण्डाको संस्कृति अन्त्य हुनु पर्ने बताए ।

‘नेतृत्व र योजना कार्यान्वयनको सकारात्मक सम्बन्ध हुन्छ । मेलम्ची खानेपानी योजना र सासेक पावर र यातायात जस्ता योजना यसका उदाहरण हुन्’ उनले भने ।
अर्थ सचिव शान्तराज सुवेदीले एडिबीको योजनाहरुको प्रशंसा गर्दै सरकार जस्तोसकै सहयोगका लागि तयार रहेको बताए । साथै, नतिजा दुर्घटनाले नआउने र त्यसका लागि योजना गतिलो बनाउनुपर्ने र सो योजना पुरा गर्न तत्पर रहनु पर्ने सचिव सुवेदीले बताए ।


क्लिकमान्डु