साढे ८ वर्ष जेल बसेपछि निर्दाेष ठहरिएका पीडित भन्छन्- खर्च कसले बेहोर्छ ?



सोलुखुम्बु । आफ्नो गल्ती बिना कसैले वर्षौंको जेल सजाय भोग्नुपपर्यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ ।

यस्तै घात सहिरहेका छन्, सोलुखुम्बु सोताङका दुई वृद्धहरु ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राईले ।

विसं २०६५ असोज १३ गते सोलुखुम्बुको सोताङमा लोकबहादुर विश्वकर्माको गोली हानी हत्या गरेकोे आरोपमा जेलमा रहेका उनीहरु गत बुधबार सर्वोच्च अदालतले निर्दोष रहेको फैसला गरेपछि बिहीबार जेलमुक्त भएका छन् ।

बिहीबार जेलमुक्त भएपछि दुई वृद्धले हत्यासँग कुनै सम्बन्धसमेत नभएका आफूहरुलाई अनाहकमा साढे ८ वर्ष जेल राखेको भन्दै दुखेसो गरे ।

कर्तव्य ज्यानको कसुरमा ०६५ साल कात्तिक ७ गते जिल्ला अदालत सोलुखुम्बुको आदेशमा दोषी ठहर्दै सोताङका दीपेन्द्र नाछिरिङ, केदार नाछिरिङसँगै भूपध्वज बस्नेत र नइन्द्रबहादुर राई पनि जेल चलान भए ।

दीपेन्द्र र केदार अदालतको आदेशमा मौन रहेपनि २० वर्ष कैद सजाय पाएका ७३ वर्षीय भूपध्वज र ६३ वर्षीय नइन्द्र राई न्यायका लागि पुनरावेदन अदालत राजविराज गए । पुनरावेदन अदालतले पनि भूपध्वजलाई ज्येष्ठ नागरिक भएबापत ५ वर्ष सजाय कम गर्नेबाहेक जिल्ला अदालतकै फैसलालाई सदर गर्यो ।

पुनरावेदनबाट पनि न्याय नपाएको महसुस गरे । भरुवा बन्दुक प्रयोग गरी कर्तव्य गरिएको कसुरमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि सजाय भोग्नुपर्दा छट्पटिएका भूपध्वज र नइन्द्र न्यायका लागि अन्तिम बिन्दु सर्वाेच्च अदालतको शरणमा पुगे । उनीहरुले सर्वाेच्च धाएको ४ वर्षपछि बुधबार फैसला भयो । सर्वाेच्चले निर्दाेष रहेको ठहर गरेपछि उनीहरु ८ वर्ष ६ महिना अनाहकमा जेल जीवन बिताएर बिहीबार बाहिरिएका छन् ।

सर्वाेच्चबाट न्याय पाएपछि खुसी हुँदै कारागारबाट बाहिरिँदा सोताङ-३ देउरालीका ७३ वर्षीय भूपध्वज बस्नेतले भने, -नखाएको विष लाग्यो, तैपनि नगरीकन भोग्नु परेको पापको छिटा जिउँदै हुँदा मेटिँदा खुसी छु ।’

बस्नेतसँगै जेल परेका ६३ वर्षीय नइन्द्रबहादुर राइले गुमेको खुसी सर्वाेच्चले फेरि फर्काइदिएको बताए ।

परिवारसँग बसेर आरामसाथ जीवन जिउने बेलामा अनाहक जेलको चिसो सहनु मात्र हैन अदालत धाउँदा १२ लाख सकिएको भन्दै भूपध्वजले प्रश्न गरे- ‘हामीले अनाहकमा जेल बसेको र लागेको खर्च कसले बेहोर्छ ?’


पुष्प दुलाल