१५ शहरमा चाँडै फोरजी, कुन-कुन हुन् ति शहर ?



 

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट दुनियाँको चौथो जेनेरेशन (फोरजी) सेवा देशैभर विस्तार गर्न लागेको छ ।

पहिलो चरणमा काठमाडौं र दोस्रो चरणमा पोखराबाट फोरजी सेवा सुरु गरिसकेको टेलिकमले तेस्रो चरणमा मुलुकका मुख्य १५ शहरमा यो सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

ति शहरहरुमा फोर जी सेवाका विस्तारका लागि नेटवर्क डिजाइनको काम भईरहेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

‘नेटवर्क डिजाइनको काम सकिए लगतै सेवा सञ्चालनका लागि बोलपत्र जारी गर्छौं,’ प्रवक्ता बैद्यले क्लिकमाण्डूसँग भनिन्,- ‘हामी चाँडोभन्दा चाँडो ति स्थानमा फोरजी विस्तार गर्नेछौं ।’

कुन कुन शहरमा विस्तार हुँदैछ ?

बैद्यका अनुसार टेलिकमले बिर्तामोड, धरान, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, नेपालगञ्ज, बुटवल, धनगढी, दोलखालगायतका शहरमा फोरजी सेवा सञ्चालन गर्न काम भइरहेको छ ।

फोरजीमा ग्राहकको आकर्षण र चासो निकै देखिएकाले टेलिकमले यो सेवा विस्तारलाई आक्रमक ढंगले अघि बढाउन लागेको उनको भनाई थियो ।

डेढ महिनामै फोरजीका ग्राहक ५ लाख

सेवा सञ्चालन भएको दुई महिना नपुग्दै फोरजी सेवाका ग्राहक ५ लाख पुगेका छन् । प्रिपेड र पोष्टपेड गरेर फोरजीका सेवा लिने ग्राहकहरुको संख्या हालसम्म करिब ५ लाख पुगिसकेको बैद्यले बताइन् ।

टेलिकमले पुष १७ गतेदेखि पोष्टपेडमा र माघ २२ गतेदेखि प्रिपेड मोवाइलका ग्राहकलाई फोरजी सेवा दिन सुरु गरेको थियो ।

१५ शहरमा फोरजी सेवा सुरु भएपछि देशैभर यो सेवा सञ्चालनका लागि काम अघि बढाउने उनले जानकारी दिइन् ।

संसदको विकास समितिले गत माघ ५ गते नै एक वर्षभित्र देशभर फोरजी सेवा पुर्याउन टेलिकमलाई निर्देशन दिइसेको छ ।

फोरजीको विषेशता

फोरजीमा अहिलेसम्म हामीले चलाइरहेको सेवाभन्दा सबैभन्दा द्रुत गतिमा इन्टरनेट चल्छ । फोरीको १०० एमबीपीएसको गति थ्रीजीको भन्दा ५० गुणा बढी हुन्छ ।

फोजीबाट उपभोक्तालाई उच्च गुणस्तरको भिडियो र अडियो सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । फोरजीमा इन्टरनेटको गति र गुणस्तर राम्रो हुने भएकाले पैसा पनि धेरै लाग्छ ।


पुष्प दुलाल