मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग मागियो लालपुर्जा



गोरखा । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ ।

पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले उनले भने-‘अहिलेसम्म ९६ जनाको बैंकमा शून्य मौज्दातमा खाता खोलिसकिएको छ ।’

बूढीगण्डकी प्रभावितमध्ये ४२ जनाको लालपुर्जा सरकारलाई प्राप्त भइसकेको र ती सबैको नाममा बैंकमा खाता पनि खोलिसकिएको छ’ उनले भने – ‘केही दिनमा प्रभावितको खातामा रकम पठाउँछौँ ।’

आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा सङ्कलन गर्न र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताए ।

पहिलो चरणमा तीन गाविसका करिब एक हजार जनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि ती मध्ये करिब दुई सय जनाले मात्र मुआब्जा पाउँ भन्दै निवेदन दिएका छन् । पुनर्वासको टुङ्गो नलाग्दा मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ ।


पुष्प दुलाल