नेप्सेमा देखियो उत्साह, सुचक घटेपनि ८२ करोडको कारोबार




काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्सेमा तीब्र उतारचढाव देखिएको छ । कारोबार शुरु हुने बित्तिकै करिब २२ अंक बढेको नप्से परिसुचक कारोबार बन्द हुने समयमा ४.२४ अंकले घटेर १३६५.११ मा बन्द भएको छ ।

अर्थतन्त्रका सूचकहरु सकारात्मक र राजनीतिमा समेत निर्वाचन घोषणा लगायतका समाचारहरु सार्वजनिक भएसँगै पछिल्ला केही दिनहरुमा लगानीकर्तामा उत्साह छाएको छ । यसको थप पुष्टि कारोबारमा आएको ठूलो बढोत्तरीले गर्छ । आइतबार दिनभरमा करिब ६७ करोडको कारोबार भएकोमा सोमबार बढेर ८१ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

पछिल्ला केहि दिनमा लगातार बढेको र आज पनि शुरुमा ठूलो अंकले बजार बढेको बेला लगानीकर्ताले नाफा बुक गर्दा अन्तमा भने बजार थोरै अंकले घटेको छ ।

सोमबार १३६ कम्पनीको करिब १५ लाख ९ हजार ८ सय ७८ कित्ता सेयर कारोबार भएको छ ।

सोमबार उप सूचकहरुमा होटेल र इन्स्योरेन्स क्रमशः ०.२ र ३६.१२ अंकले बढेका छन् । अन्य सबै उप सूचकहरु घटेका छन् । बैकिङ ४.३८, बिकास बैंक १०.७९, जलविद्युत ३.९८, बित्त ५.५७, अन्य ६.०७ अंकले घटेका छन् ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंक अफ काठमाण्डौं र शिखर इन्स्योरेन्सको क्रमशः ३ करोड २१ लाख र ३ करोड १७ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

सोमबार आइएलएफसी माइक्रोफाइनान्स, बिजय लघुबित्त लगायत ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । भार्गव बिकास बैंक र सिभिल बैंकका लगानीकर्ताले क्रमशः ५.३८ र ४.४४ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल