पुस्तक समीक्षाः समाजिक मनोग्रन्थीबाट पलाएको भ्रष्टाचारलाई त्यहीबाट रोकथाम



पुस्तकको नामः समाज र भ्रष्टाचारः कारण, आयाम र परिणाम
लेखकः सूर्यनाथ उपाध्याय र दिपेशकुमार घिमिरे
प्रकाशकः सांग्रिला बुक्स
मूल्यः ३५० रुपैयाँ
पेजः २४८

यतिखेर नेपालको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार नै हो । समाजको हरेक तह र तप्का भ्रष्टाचारको चंगुलमा फसेका छन् वा सन्जालमा आवद्ध छन् । राजनीतिक क्षेत्र आफै भ्रष्टाचारको मुहान बनेको छ । सबै नीतिको मूलनीति राजनीति नै हो । मुहान नै प्रदुषित बनेपछि चुहान सफा हुने कुरै भएन ।

राजनीतिबाट सुशासन स्थापना गर्ने सम्भावना कमै देखिन्छ । अनुसन्धानकर्ता तथा लेखकहरु पनि भ्रष्टाचार र यससँग सम्बन्धित सवालमा खासै लेखिरहेका छैनन् । झन् विश्लेषणात्मक पुस्तकको बजारमा अभाव छ । यही अभावलाई केही मात्रामा भएपनि परिपूर्ति गर्ने गरि आएको छ ‘समाज र भ्रष्टाचारः कारण, आयाम र परिणाम ।’

पुस्तकले भर्खरै गएको भुकम्प पछिको क्षतिलाई भ्रष्टाचारको परिणामको रुपमा उल्लेख गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र युवा समाजशास्त्री तथा अनुसन्धानकर्मी दिपेशकुमार घिमिरेद्धारा लिखित पुस्तकले भ्रष्टाचार व्यक्तिको लोभ, मोह, स्वार्थको मात्र उपज होईन बरु यो त समाज, सामाजिक बनोट, संरचना तथा सम्बन्धको उपज समेत हो भन्ने तर्क गरेको छ । समाज र यसको अवस्था जस्तो छ भ्रष्टाचारको अवस्था, दर र दायरा पनि त्यसले निर्धारण गर्ने पुस्तकको मुल सवाल रहेको देखिन्छ ।

पुस्तकमा जम्मा भुमिका र परिचय बाहेक पाँच परिच्छेद छन् । पहिलो परिच्छेदमा भ्रष्टाचारको परिभाषा र बुझाई छ । यसैगरी दोस्रोमा भ्रष्टाचारको कारण, तेस्रोमा भ्रष्टाचारका आयाम, चौथोमा भ्रष्टाचारको परिणाम र अन्तिम परिच्छेदमा भ्रष्टाचार नियन्त्रणका आधारहरुको बारेमा उल्लेख गरिएको छ । पुस्तकले समेटेका हरेक परिच्छेदले तथ्य तथा तथ्यांकको प्रयोग गरि त्यसको सैद्धान्तिक विश्लेषण समेत गरेको कारण भ्रष्टाचारलाई सैद्धान्तिक रुपमा बुझ्नको लागि यसले सहयोग पुर्याउँदछ ।

यस्ता केहि सवालहरुलाई परै छाड्ने र पुस्तकमा उल्लेख गरिएको सवालमा मात्र केन्द्रित हुने हो भने पुस्तकले भ्रष्टाचारको समग्रपक्षको बारेमा बुझ्न निकै उपयोगी सामाग्री प्रदान गर्दछ ।

पुस्तकको पहिलो परिच्छेदमा भ्रष्टाचारको वद्लिदो स्वरुप, परिभाषा, बुझाईको बारेमा मिहिन किसिमले विश्लेषण गरिएको छ । समाजको परिवर्तन र रुपान्तरणसँगै भ्रष्टाचार र यसको स्वरुप पनि कसरी बद्लिएको छ ? भन्ने प्रश्नलाई पुस्तकले तथ्यगत रुपमा प्रष्ट्याउने प्रयास गरेको छ । राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक तथा सांस्कृतिक स्वरुपमा परिवर्तन आएसँगै भ्रष्टाचार र अनियमितताको परिभाषा पनि बदलिन्छ । त्यसलाई पुस्तकले प्रष्ट्याउने प्रयास गरेको छ । यसैगरी भ्रष्टाचार निवारण ऐन २०५९ को भ्रष्टाचारको परिभाषा भित्र मन्त्रिपरिषद्ले गरेको गलत निर्णय, गुणस्तरहिन विकासका कामहरु, गैरसरकारी तथा निजी क्षेत्र भित्र हुने अनियमिततालाई पनि समेट्नुपर्ने तर्क गरेको छ ।

पुस्तकले भ्रष्टाचारको कारणहरुको बारेमा बृहंगम दृष्टिकोणबाट विश्लेषण गरेको छ । भ्रष्टाचारका कारणहरु के के हुन भन्ने कुरालाई वौद्धिक रुपमा साँगोपाँगो गर्ने प्रयास गरिएको छ । जसमा राजनीतिक दलका कार्यकर्ता, सामाजिक मुल्य मान्यता, अपारदर्शी कोष, दण्डहिनता, परिवार तथा नातेदार र संक्रमणकालिन अवस्थाले कसरी भ्रष्टाचार बढाउनको लागि कारणको भुमिका निर्वाह गरिरहेका छन् भन्ने कुरा स्पष्ट रुपमा तर्क गरेको छ । व्यक्तिको लोभ तथा चाहना आफै उत्पत्ति हुने कुरा होईन बरु यो त माथि उल्लेख गरिएका जस्ता सवालहरुको जगमा निर्माण हुने मानबीय व्यवहार हो भन्ने तर्क पुस्तकमा छ ।

यसैगरी भ्रष्टाचारका आयाम तथा परिणामलाई पनि बृहंगम तथा अलि फराकिलो रुपमा उल्लेख गरेको छ । पुस्तकले भर्खरै गएको भुकम्प पछिको क्षतिलाई भ्रष्टाचारको परिणामको रुपमा उल्लेख गरेको छ । सामान्य रुपमा हेर्दा विपत् प्राकृतिक हुन्छ जस्तो लागेपनि त्यो आफैमा सामाजिक भएको र समाज तथा विभिन्न निकायहरुमा भएका भ्रष्टाचारले कसरी क्षतिलाई निम्त्याईरहेको छ भन्ने कुरा उल्लेख गरेको छ । यसैगरी, लोकतन्त्रको प्रमुख समस्या तथा चुनौती पनि भ्रष्टाचार भएको पुस्तकको तर्क छ । लोकतन्त्रमा राजनीतिक दल अपरिहार्य सवाल हो । तर यही राजनीतिक क्षेत्रको अपराधिकरण र अपराधको राजनीतिकरणले लोकतन्त्रलाई चुनौती थप्दै लगेको तथ्यहरु पुस्तकले समेटेको छ ।

पुस्तकको अन्तिम परिच्छेदमा रहेको भ्रष्टाचार नियन्त्रणको आधार निकै महत्वपूर्ण र उपयोगी सामाग्रीहरुले भरिएको छ । भ्रष्टाचार नियन्त्रणको लागि अहिले भईरहेका गतिविधि तथा क्रियाकलापहरु आफैमा पूर्ण नरहेको पुस्तकको निष्कर्ष छ । बलियो कानुन र बलियो संस्थागत संरचना भएर मात्र पनि भ्रष्टाचार नियन्त्रणको काम सम्भव नभएको तर्क पुस्तकले गर्दछ । यस अन्र्तगत सामाजिक सुरक्षाको अवस्थालाई बढाउन सकिए कसरी भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्थ्यो भन्ने कुरा बडा तार्किक रुपमा पुस्तकले उठाएको छ । महँगो शिक्षा, स्वास्थ्य तथा बेरोजगारीको कारण पनि भ्रष्टाचार बढाउन सहयोग गरिरहेको र यसलाई सामाजिक सुरक्षा भित्र राख्न सक्ने हो भने भ्रष्टाचार नियन्त्रणको लागि योगदान गर्न सक्छ भन्ने तर्क गरिएको छ ।

समग्रमा भन्नुपर्दा समाज र भ्रष्टाचार पुस्तक निकै उपयोगी देखिन्छ । पुस्तकको भुमिका चर्चित समाजशास्त्री प्रा. चैतन्य मिश्रले लेखेका छन् । उनको भुमिकाले पुस्तकलाई थप गहकिलो बनाएको छ । प्रा. मिश्रले भ्रष्टाचार कसरी सामाजिक उत्पादन हो र यो समाजको बनौट तथा संरचनासँग जोडिएको छ भन्ने कुरा उल्लेख गरेका छन् । त्यसले अहिलेसम्म भ्रष्टाचारलाई हेरिरहेको दृष्टिकोण बदल्न पाठकलाई मार्गप्रशस्त गर्दछ ।

पुस्तकले भ्रष्टाचारका कतिपय सवाललाई समेट्न सकेको छैन । जस्तो लोकमान जस्ता पात्र कसरी उदय भए र अख्तियारको नेतृत्व गर्न पुगे, भ्रष्टाचार नियन्त्रणको लागि भनेर गठन गरिएका निकायहरु आफै कसरी भ्रष्टाचारको चंगुलमा फसिरहेका छन् भन्ने सवाललाई पुस्तकले खासै ध्यान दिएको छैन । यस्ता केहि सवालहरुलाई परै छाड्ने र पुस्तकमा उल्लेख गरिएको सवालमा मात्र केन्द्रित हुने हो भने पुस्तकले भ्रष्टाचारको समग्रपक्षको बारेमा बुझ्न निकै उपयोगी सामाग्री प्रदान गर्दछ । भ्रष्टाचारको विषयमा रुची हुने जो कोहिलाई पनि पुस्तक पठनीय र उपयोगी लाग्दछ ।


पुष्प दुलाल