यो शिवरात्रीमा भीआइपी र पैसा हुनेलाई बिषेश सुबिधा छैन




काठमाडौं । महाशिवरात्रीको अवसरमा दर्शनार्थीले सहजरुपमा पशुपतिको दर्शन गर्न पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवारात्रीमा गरिने बिहान र राती हुने विशेष पूजा, सःशुल्क टिकट र विशेष पासबाट हुने दर्शन हटाउने निर्णय गरेको छ ।

विशेष पूजा, सःशुल्क टिकट र विशेष पासका कारण लाइनमा बसेको दर्शनार्थीले सहजरुपमा पूजा गर्ने वातावरण नभएको भन्दै सो व्यवस्था हटाउने निर्णय गरेको विकास कोषका अधिकृत गौरी शंकर पराजुलीले जानकारी दिए ।

‘महाशिवरात्री पर्वको अवसरमा देश विदेशबाट पशुपतिनाथको दर्शनार्थ आउने आम दर्शनार्थीहरुलाई सहज र सरल एवंं सुरक्षितरुपमा दर्शन गराउने उद्देश्यले सो व्यवस्था हटाइएको हो,’ प्रराजुलीले भने क्लिमाण्डूसँग भने ।

यसअघिका वर्षहरुमा कोषले १ हजार रुपैयाँ दरको टिकट काटेपछि छुट्टै बाटोमार्फत् पशुपतिको दर्शनको व्यवस्था मिलाउँदै आएको थियो । सोही बाटोबाट भीआइपीलाई पनि दर्शनको व्यवस्था मिलाउने गरिएको थियो ।

यो वर्ष छुट्टै बाटो निर्माण गर्न नसकेकाले टिकट र विषेश पासमार्फत पशुपतिको दर्शन गर्ने व्यवस्था हटाइएको हो ।

विकास कोषले महाशिवरात्रीको अगाडि र पछाडिका ३ दिन थप विशेष पूजा गर्ने व्यवस्था मिलाइएको विकास कोषले जनाएको छ ।

टिकट बेचेर विकास कोषले गत वर्ष १५ लाख रुपैयाँ आम्दानी गरेको थियो । प्रतिटिकट १ हजार रुपैयाँका दरले १५ सय जनाले टिकट काटेर पशुपति दर्शन गर्ने गरेको देखिन्छ ।


पुष्प दुलाल