चौधरी ग्रुपको मेघौली सराइ लज विश्वका उत्कृष्ट होटलको सूचीमा



काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ ।

पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीको यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’ मा मेघौली सराइलाई समावेश गरेको हो ।

चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ । विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट एकमात्र होटल मेघौली सराइ पनि परेको हो ।

‘यो वर्षको प्रतिस्पर्धा विगतको भन्दा वास्तवमै उच्चस्तरको रहेको थियो,यी ४४ होटलहरुले विभिन्न क्षेत्रमा विशिष्टता प्रदर्शन गरेका छन् । कसैको डिजाइन उत्कृष्ट छ भने कसैले खानाको उत्कृष्टतामा बाजी मारेका छन् । कुनै चाँहि अति विशिष्ट स्थानमा रहेका छन् । यी सबैले विश्वभरका होटल उद्योगका लागि उत्कृष्टताको सन्देश दिएका छन्,’ पत्रिकाले भनेको छ ।

‘हाम्रो लागि यो महत्वपूर्ण सम्मान हो, जसका लागि हामी कृतज्ञ छौं । यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको छ ।’ चौधरी समूहका कार्यकारी निर्देशक तथा सिजी होटल्स एण्ड रिसोर्टका प्रबन्ध निर्देशक राहुल चौधरीले भने ।

सिजी होटल्स एण्ड रिसोर्टका विशिष्ट होटलहरु माल्दिभ्स, श्रीलंका, दुवई, फिलिपिन्स, चीन, इन्डोनेशिया, न्यूयोर्कलगायतका स्थानहरुमा रहेका छन् । ‘मेघौली सराइ ट्राभल एण्ड लिजरको यो सूचीमा पर्नाले विश्वभरका धेरै गुणस्तरीय पर्यटक नेपाल आउने विश्वास हामीले लिएका छौं,’ चौधरीले भने ।
मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ ।


क्लिकमान्डु