योजना कार्यान्वयनलाई प्राथमिकता : उपाध्यक्ष डा. श्रेष्ठ



बेनी  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले देशको विकास निर्माण र जनताको समृद्धिका लागि बजेट विनियोजनसँगै योजना कार्यान्वयनतर्फ पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगमा नियुक्त भएपछि पहिलोपटक आफ्नो जन्मथलो म्याग्दीको सिङ्गा तातोपानीमा आएका उपाध्यक्ष डा श्रेष्ठले बिहीबार स्थानीयवासीले आयोजना गरेको स्वागत कार्यक्रममा   योजना कार्यान्वयनका लागि योजना सञ्चालन भएका क्षेत्रका बासिन्दा, सरकारी निकाय, निर्माण व्यवसायी, स्थानीय राजनीतिक दल र सरोकारवाला सबैले ध्यान दिनुपर्ने  बताए । देशमा विकास निर्माणको कामलाई दु्रतगतिमा अघि बढाउन र नयाँ विधिबाट योजनालाई प्राथमिकीकरण र कार्यान्वयन गर्न आफू लागिपरेको पनि जानकारी दिए ।

म्याग्दीको दरबाङ, ताकम, मुना हुँदै ढोरपाटनबाट मध्यपहाडी लोकमार्गमा जोडिने सडक, बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म जोडिने कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमजोम–लोमान्थाङ सडक आफूले प्राथमिकतामा राखेको पनि उपाध्यक्ष डा श्रेष्ठले बताए।

त्यसैगरी, म्याग्दीमा सुस्तगतिमा रहेका राहुघाट जलविद्युत् आयोजनालगायत योजनाको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ पनि आफ्नो ध्यान केन्द्रित भएको  उनको भनाई छ ।  रासस


क्लिकमान्डु