भैरवहा सेजमा ५ अर्ब लगानी गर्ने २१ उद्योगको प्रस्ताब, उद्योग मन्त्रीले भने- लोडसेडिङ हुँदैन
भैरहवा । भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) कार्यालयको उद्घाटन भएको छ । उद्घाटन गर्दै बिहीबार उद्योग मन्त्री नवीन्द्र राज जोशीले सेजमा २१ वटा उद्योगले प्रस्ताव गरेको र ५ अर्ब रुपैयाँ बढी लगानी हुने बताए ।
‘उद्योग सचांलनका लागि आवश्यक बिजुली तत्काल उपलब्ध हुने छ, सरकारले विशेष आर्थिक क्षेत्र विधेयक पारित गरेपछि उद्योग इच्छुक व्यक्तिले प्रस्ताव हालेको र अव उद्योगीले माग गरे अनुसारको बिजुली पनि उद्योग सचांलन हुने बेलासम्म आईपुग्ने छ,’ उद्योगमन्त्री जोशीले भने ।
उद्योग निमार्णगरी सचांलन गर्न ७/८ महीना लाग्ने र त्यती बेलासम्म बिजुली ल्याउन आवश्यक प्रक्रीर्या सुरु भईसकेको उनले बताए । उनले बढ्दो ब्यापार घाटा कम गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्नका लागी सेज महत्वपुर्ण भएकाले यसको सचांलन सम्वन्धमा शंका नगर्न आग्रह गरे ।
विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले उत्पादित कम्पनीको ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने २१ कम्पनीसँग सेजले सम्झौता गरिसकेको जानकारी दिए ।
उनका अनुसार सेजभित्र फलफुल, रेडिमेड गार्मेन्ट, पीभीसी म्याट, सिमेन्ट व्लक, सिमेन्ट इलेक्ट्रोकल, फेव्रिक, रबर तथा जुत्ता, तारजन्य उत्पादन, मेडिकल हर्ब, साबुन, डिप इरिजेसन पाइप, गार्मेन्ट प्रोसेसिङ इण्डष्ट्रिज, अदुवा प्रशोधन उद्योग, मिनिरल वाटर उद्योग, विद्युतीय गाडीको एसेम्बिलिङ उद्योग र जुस सम्बन्धी उद्योग खुल्ने छन् ।
सरकारले ऐन र नियमावली तयार गरेपछि उद्योगीसँग प्रस्ताव आह्रवान गरेको थियो । त्यसमा विभिन्न कम्पनीले प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २१ वटा कम्पनी छनोट भएको भट्टले जानकारी दिए ।
सरकारले सेजमा स्थापित उद्योगलाई अन्य उद्योगको तुलनामा विशेष सुविधा दिने बताएको छ । त्यस्ता उद्योगले आफ्नो कम्तीमा ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने हुन्छ ।