एउटै सहकारी देशभर चलाउनु गलत : सहकारीमन्त्री थानी



काठमाडौं । सहकारी तथा गरीवी निवारण मन्त्री हृदयराम थानीले सहकारी सिद्धान्त, मूल्य र प्रचलित अभ्यासका आधारमा सहकारी ऐन आउने बताए ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को चार दिवसीय रणनीतिक कार्यदिशा अभिमुखीकरण गोष्ठी समापन गर्दै मन्त्री थानीले सहकारी ऐनलाई विकृतिरहित बनाउन आफुहरुले भूमिका खेलिरहेको र त्यसमा सहयोग गर्न अभियन्ताहरुलाई आग्रह गरे ।

अभियन्ताहरु आफनो व्यक्तिगत स्वार्थ र आग्रहबाट माथि उठेर अभियानमैत्री ऐन आउने वातावरण निर्माणमा सहयोग गर्न उनले आग्रह गरे ।

‘देशभरी कार्यक्षेत्र राखेर सहकारी चलाउने परिपाटी गलत छ, ठुलाबडा र भद्रव्यक्तिहरुबाटै त्यस्तो काम भएको छ, यसरी सहकारी चलाउनुहुदैनथियो,एउटै सहकारीको माध्यमबाट मेचीदेखि महाकालीसम्म पुग्ने परिपाटी अन्त्य हुनुपर्दछ,’ उनले भने

उनले सञ्चालक र व्यवस्थापक एउटै व्यक्ति हुने, आफनो सुविधा आफै तोक्ने, कम्पनी ऐनमा दर्ता भएका निजी व्यवसाय र सहकारीवीच के अन्तर हो, छुट्याउन जरुरी रहेको भन्दै निजी व्यवसाय र सहकारीवीच कसरी काम गर्ने, त्यो वारे छुट्टै छलफल गर्न र सहकारी र अरु क्षेत्रलाई एउटै रुपमा गोलमटोल बनाउने कार्य बन्द आग्रह गरे ।

कार्यक्रममा बोल्दै एशियाली ऋण महासंघ (आकु) का प्रमुख कार्यकारी अधिकृत लेनीले वित्तिय सहकारीहरुको सञ्चालन र व्यवस्थापन अत्यन्त प्राविधिक र चुनौतिपूर्ण कार्य भएकोले यसका जोखिम सामना गर्न, वित्तीय अनुशासन कायम गर्न र अभियानलाई व्यापक समुदायवीच पुर्याउनका लागि एकीकृत सहकारी प्रणाली जरुरी रहेको बताए ।
नेपालको वित्तीय सहकारी अभियान तीव्र रुपमा विस्तार र एशिया प्रशान्त क्षेत्रकै सफल देश बनिरहेको अवस्थामा सबै सहकारीहरुलाई एकीकृत, गुणस्तरयुक्त र सञ्जालीकरणका लागि संघहरुलाई पर्याप्त अधिकारसहित व्यवस्थित कानून आवश्यक रहेको लेनीको भनाई थियो ।

नेफ्स्कूनले तीन वर्षे रणनीतिक कार्यदिशा तय गर्दै आगामी तीन वर्षमा ५० लाख सदस्यहरुवीच वित्तीय सहकारीको स्वामित्व र सेवा पुर्याउने, मुलुकभर एकीकृत दीगो सुशासित साकोस अभियान बनाउने र वित्तीय सहकारी अभियानमार्फत राष्ट्रिय समृद्धिमा महत्वपूर्ण योगदान स्थापित गर्ने लक्ष्य लिएको छ । समुदायमा वित्तीय कारोवार गर्ने सहकारीहरु सञ्चालन र व्यवस्थापन सम्वेदनशिल कार्य भएकोले यसको नियमन र व्यवस्थापनलाई प्रभावकारी, विधि र प्रविधिमा आधारित बनाउन नेफ्स्कून क्रियाशिल रहने रणनीतिक कार्यदिशा तयर गरेको छ ।


क्लिकमान्डु