काठमाडौं आयो मुक्तिनाथ, उदघाटन गर्दै गभर्नरले भने-अब व्याजदर घट्छ




काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले आफ्नो प्रधान कार्यालय काठमाडौंको कमलाधीमा सारेको छ । उक्त प्रधान कार्यालयको उदघाटन आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गरे ।

सो अवसरमा गभर्नर नेपालले बैंकहरुले कसरी व्याजदर बढाइरहेका छन् र कसरी घटाइरहेका छन् भनेर राष्ट्र बैंकले नजिकबाट नियालिरहेको बताए ।

‘कसले कसरी व्याजदर बढाइरहेका छन् र कसले घटाइरहेका छन् भनेर हामीले हेरिरहेका छौं, अब व्याजदर बढ्ने चरणमा छैन, घट्ने चरणमा छ,’ केन्द्रिय बैंकले हस्तक्षेप गर्नुपर्यो भने राम्रो हुँदैन, त्यसैले अब तपाईहरु आफैं सुध्रिनु होस्,उनले भने ।

राष्ट्र बैंकले एक्सन लिनुपर्दा राम्रो नहुने भन्दै गभर्नरले बैंकहरुलाई आफैं सचेत भएर अघि बढ्न सुझाब दिए ।

‘मुक्तिनाथ विकास बैंक राष्ट्रियस्तरको विकास बैैंकका रुपमा काठमाडौं आएको छ, आफैं सचेत भएर अघि बढ्नुहोस् शुभकामना,’ गभर्नर डा. नेपालले भने ।

सो अवसरमा बैंकका प्रमुख कार्यकाराी अधिकृत भरतराज ढकालले अब आफुहरु काठमाडौं आएको र यहाँको बजारमा स्वस्थ्य प्रतिस्पर्धा गरि अघि बढ्ने प्रतिवद्धता जनाए ।

सीइओ ढकालका अनुसार बैंकले ३ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । जसमध्ये १ लाख बढी लघुवित्तका ग्राहक छन् । बैंकले ९ सिमित बैंकिङ इकाइ, ४४ शाखा, ३ एकसटेन्सन काउन्टर र ५० लघुवित्त डेस्कमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

०७३ माघ मसान्तसम्ममा बैंकले १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी साढे १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको ढकालले बताए ।

पोखरामा प्रधान कार्यालय रहँदा लामो समय मुक्तिनाथ विकास बैंक पोखराको १ नम्बरको बैंकको पहिचान बनाएको थियो ।

प्रधान कार्यालय काठमाडौं सारेको अवसरमा बैंकले १० जना पुर्वगभर्नरलाई सम्मान पनि गरेको थियो ।


पुष्प दुलाल