अन्तराष्ट्रिय हवाइ उडानको कन्तबिजोग, पर्यटन उद्योग फस्टाउने सम्भाबना कम




काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुधार कार्यको सुस्तताले हवाई यात्रुले अझै कम्तिमा पनि आधा दशक सास्ती व्योहोर्नुपर्ने निश्चत छ । बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि नबढ्दा बढ्दो यात्रु चाप कम्तिमा आधा दशक अझै यही विमानस्थलले धान्नुपर्ने भएको हो ।

यसकारण पनि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारलाई उच्च प्राथमिकतामा राखेको थियो । तर, विमानस्थल निर्माणको ५ दशकपछि सुरु भएको स्तरोन्नतिको कार्यले गति लिन सकेको छैन । विमानस्थलले यात्रुको चाप थेग्न हम्मे परेको छ । अर्को तर्फ विमानस्थलकै कारणले पर्यटन बजारमा नेपालको हवाई सम्पर्क हुन सकेको छैन । त्यसको असर पर्यटन आगमनदरमा प्रत्यक्ष पारेको छ ।

त्रिभुवन विमानस्थल सुधार आयोजनाले विमानस्थल सुधारको जिम्मा पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँग ४ पटकसम्म काम सम्पन गर्ने सम्झौता गरेको थियो । तर काम भएन । अनि गत कात्तिकमा ठेक्का सम्झौता रद्द भएको छ ।

त्रिभुवन विमानस्थल सुधार गुरुयोजनाको लक्ष्य अनुसार सन् २०१३ मा सम्पन्न हुनुपर्ने काम २०१४, २०१५, २०१६, २०१७ हुदै २०१८ अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य राखियो । अहिले ठेक्का सम्झौता रद्द पछि भने सवै प्रक्रिया रोकिएको छ । र, अव फेरि निर्माण कार्यलाई २०२० मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ ।

सो कम्पनीले सन् २०१६ अक्टोवर काम सकिसक्नु पर्ने सम्झौता भएपनि सो अबधिमा जम्मा १६ प्रतिशत मात्र काम सम्पन्न भएपछि नागरिक उड्डयन प्राधिकरण संचालक समितिले ठेक्का सम्झौता रद्द गरेको थियो ।

चाप धान्नै नसक्ने अवस्थामा
विमानस्थको हालको क्षमताले प्रतिघन्टा १ हजार ३ सय ४० यात्रुको मात्र ह्याण्डल गर्न सक्ने बताउँछन विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्याय । क्षमताभन्दा बढी यात्रु ह्याण्डल गर्नुपरेका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ ।

‘प्रतिघण्टा १३४० यात्रु ह्याण्डल गर्न सक्ने क्षमता छ, तर हाल प्रतिघन्टा २ हजार ४६ जना यात्रुको हेन्डल गर्नुपर्ने अवस्थामा पाइपरेको छ,’ उनी भन्छन् ।

विमानस्थल निर्माण गर्दा सन् २००२ सम्मको लागि प्रतिघण्टा १ हजार ३ सय ४० यात्रुको लागि भनेर विमानस्थल निर्माण गरिएको थियो । सन् २०१३ मा निमार्ण सम्पन्न हुने र २ हजार ४६ यात्रु प्रति पिकआवर ह्याण्डल गर्ने क्षमताको निमार्ण गर्ने भनिएको योजना २०२० मा सम्पन्न हुने गरी धकेलिएको उपाध्याय बताउँछन ।

‘सन् २०२८ सम्ममा ३ हजार ६०० यात्रु प्रतिपिकआवरको लागि बनाउने हो, तर काम ढिला भइरहेको छ,’ उपाध्यायले भने ।

योजना अनुसार विमानस्थलको उत्तर र दक्षिण दुवैतिर धावनमार्ग विस्तार गर्न लागिएको छ । दक्षिणपट्टि कोटेश्वर र उत्तरपट्टि गुह्येश्वरी फाटतर्फ धावनमार्ग विस्तारको काम भइरहेको छ । दुवै भागमा ३–३ सय मिटर विस्तार गर्ने लक्ष्य छ । विस्तारपछि धावनमार्गको लम्बाइ ३६५० मिटर हुनेछ । हाल लम्बाइ ३०५० मिटर र चौडाइ ६० मिटर रहेको छ ।

सन् २०२८ सम्मको गुरुयोजना अनुसार त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फका २९ लाख र अन्तराष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना छ । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङ लगायतका सुविधार संरचना तयार गर्ने भनिएको छ । एसियाली विकास बैंक (एडीबी) को १० करोड अमेरिकी डलरको विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको हो । गुरुयोजना अनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

बैकल्पिक विमानस्थल नभए सन् २०२१ पछि समस्या
विमानस्थलले प्रक्षेपण गरे भन्दा बढी हवाई यात्रुको चाप बढ्दै गएकोले सन् २०२१ भित्रमा बैकल्पिक विमानस्थल निर्माण नभए धान्न नसक्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले पहिल्यै गरेको प्रक्षेपणमा सन् २०१५ मा १५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले आवागमन गर्ने अनुमान गरिएको थियो । तर सो बर्ष नै ३२ लाख १० हजार हवाई यात्रुले आवागमन गरेका थिए ।

यस्तै सन् २०१६ मा ३५ लाख हवाई यात्रु पुगेको अनुमान छ । सरकारले अहिले निर्माण सुरु गरेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । उक्त विमानस्थल निर्माण भएमा त्रिभुवन विमानस्थलको २० प्रतिशत हवाई उडान त्यसतर्फ कटौति गराउने प्राधिकरणको तयारी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समेत निर्माण कार्य २०१९ सम्म गर्ने योजना भनेर गत वर्ष शिलन्यास गरिएपनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन ।

पर्यटन बजारमा सिधा उडान शून्य
अहिले काठमाडौंबाट हवाई सम्पर्क भएको सवैभन्दा लामो दूरी भनेको टर्की हो । तर हवाई सम्झौता अनुसार ३८ मुलुकसँग नेपालले हवाई सम्पर्क जोड्न सक्छ । रन–वे मा ठूला विमानहरु उडान/अवतरण गराउन नसक्ने भएकोले ठूला पर्यटन बजारबाट सिधा हवाई उडान हुन सकेको छैन । जसको कारण नेपालको पर्यटनदर बढ्ने भन्दा पनि घट्दोदरमा रहेको छ ।

नेपालमा चीनको बेङिजिङ, जापान, युरोप, अमेरिका जस्ता देशका मुख्य शहरसँग सिधा हवाई उडान हुन सकेको छैन ।

‘हामीले नेपाल वायुसेवा निगम र विमानस्थल सुधार नगरेसम्म पर्यटक आगमनदरमा बृद्धि हासिल गर्न मुस्किल छ,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुधन आचार्यले भने ।

पर्यटक आगमनमा सवैभन्दा पहिलो प्रभाव पार्ने भनेको हवाई यातायात भएकोले यसको विकासमा लाग्नु जरुरी भएको आचार्य बताउँछन । सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्ष मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो सन् २०११ मै राखिएको बताउँदै आचार्यले पूर्वाधार हुने हो भने २० लाख पर्यटक सजिलै भित्रिने दावी गर्दछन् ।