चौधरी फाउण्डेसनद्धारा शाश्वतधाम निर्माण सम्पन्न, धार्मिक पर्यटकीय स्थलको रुपमा रहने



नवलपरासी । चौधरी ग्रुपको सामाजिक एवं मानवीय कल्याणकारी निकाय चौधरी फाउण्डेसनले नवलपरासी देवचुली नगरपालिका, दुम्कौली अवस्थित सिजी इन्डष्ट्रियल पार्क परिसरमा शाश्वतधाम निर्माण सम्पन्न गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै फाउण्डेसनले शाश्वतधामको उद्घाटन यही फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने जानकारी दियो ।

सो समारोहमा आर्ट अफ लिभिङ्ग फाउण्डेसनका संस्थापक रवि शंकर, काञ्ची कामाकोठी पीठका शंकराचार्य जगद्गुरु जयेन्द्र सरस्वतीलगायतको उपपस्थिति रहने बताईएको छ ।

दुम्कौलीमा निर्मित शाश्वतधाम नेपालकै एक महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहनेछ ।

‘पूर्वीय सनातन धर्मप्रति आस्थावान सवैको भावनाको कदरस्वरुप निर्मित यो शाश्वतधाममा मानिसले आध्यात्मिक उर्जा प्राप्त गर्नेछन्,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने ।

शंकराचार्य जयेन्द्र सरस्वतीबाट चौधरी ग्रुपका संस्थापक स्व. लुनकरण चौधरीलाई मानिसहरुमा सकारात्मक धारणाको विकास गराउन शिव मन्दिर र ऋषिआश्रमको रुपमा गुरुकुल सहितको धाम निर्माण गर्न आशिर्वाद भएबमोजिम उनका छोरा एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले शाश्वतधाम निर्माणमार्फत पिताको सपना पूरा गरेको कम्पनीले जानकारी दियो । पूर्वीय सनातन धर्मको संरक्षण, प्रवर्धन तथा अध्ययन अनुसन्धानको लागि मुनाफा नकमाउने उद्देश्यका साथ यो धामको स्थापना गरिएको बताईएको छ ।

करीव सात विघा क्षेत्रफलमा फैलिएको यस धामको मध्य भागमा विश्वमै प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर रहेको छ । मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ । मन्दिरको अलावा धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, शाकाहारी अग्र्यानिक भोजनालय, विश्राम स्थल लगायत वैदिक सनातन हिन्दु धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् ।

शाश्वतधाम भित्र धार्मिक सूचना केन्द्र रहेको छ जसबाट देशभरका प्रमुख धार्मिक तीर्थस्थल, मठमन्दिर, शक्तिपीठ तथा वैदिक सनातन धर्मसम्बन्धी जानकारी पाइने छ । धाम परिसरमै एउटा सोभेनियर स्टोर रहेको छ जहाँ आगन्तुकहरुले वैदिक सनातन धर्मको प्रतिनिधित्व गर्ने विविध सामग्री खरिद गर्न सक्ने छन् ।

धाममा वर, पिपल, अशोकालगायत १२ राशी २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी विभिन्न रुख विरुवाहरु लगाइएका छन् । धामलाई आकर्षक बनाउनको लागि मन्दिर वरिपरी मनमोहक पानीको फोहरा (वाटर फाउन्टेन) समेत निर्माण गरिएको छ । आगन्तुकहरुको सुविधाको लागि बिश्राम स्थल पनि बनाइएको छ ।

धामको विधिवत उद्घाटन र मन्दिरमा प्राणप्रतिष्ठा पश्चात सर्वसाधारणको लागि औपचारिक पुजाआजा, दर्शन तथा अवलोकन खुला गरिने फाउण्डेसनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु