पूर्बगभर्नर खतिवडा भन्छन्ः भारतले आफ्नो मुद्राको विश्वास गुमायो



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युबराज खतिवडाले नोटबन्दीको कारण भारतले आफ्नो मुद्राको विश्वास गुमाएको बताएका छन् । भारतले एक्कासी मौद्रिक नीतिमा परिवर्तन गरेर आफ्नो मुद्राप्रति अविश्वास ल्याउने काम गरेको उनको भनाइ छ ।

प्रेसिडेन्टल विजनेस स्कुलले आयोजना गरेको ‘भारतीय मुद्राको प्रभाव र नेपालमा असर’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले पनि एक र दुई रुपैयाँ दरका नोट हटाएका छौं, तर कुनै हल्लीखल्ली गरेनौं, तर भारतले आकस्मिकरुपमा पाँचसय र हजारका नोट प्रतिबन्ध लगायो, यो राम्रो होइन, दक्षिण एसियामा भारतीय मुद्राको विश्वास खस्केको छ,’ उनले भने ।

भारतीयसँग कारोबार गर्दा अब इलेक्ट्रोनिक प्रणालीबाट कारोबार गर्नुपर्ने उनको सुझाब छ ।

कार्यक्रममा सहभागीहरुले भारतीय मुद्राको प्रभावका कारण नेपालमा खासै असर नपारेको बताएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भारतीय पाँचसय र हजारका नोटको प्रतिबन्धले बाहिर बजारमा आएको हल्लाजस्तो प्रभाव नभएको बताए ।

भारतीय सीमा बजारमा केही प्रभाव पारेपनि नेपालको समग्र मौद्रिक क्षेत्रमा केही असर नपारेको प्रष्ट पार्दै उनले नोटको प्रतिबन्धले हुन्डीजस्ता कारोबारलाई निरुत्साहित गरेको धारणा राखे ।

‘नोट प्रतिबन्धका कारण भारतीय व्यापारीसँग नेपालीले अब नेपाली रुपैयाँमा नै कारोबार गर्नुपर्दछ भन्ने चेत खुलेको छ, रुपियाँको सट्टा अब कार्ड मार्फत् कारोबार गर्नुपर्दछ,’ शिबाकोटीले भने । भारतीय नोटमा प्रतिबन्धपछि एक अर्बको भारतीय नोट राष्ट्र बैंकले ल्याइसकेको बताउँदै थप एक अर्ब ल्याउने प्रयास जारी रहेको उनले जानकारी पनि दिए ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भारतीय मौद्रिक नीतिमा परिवर्तनले नेपालमा खासै प्रभाव नपारे पनि अब भारतसँग कारोबार गर्दा सचेत हुनुपर्ने बताए । रासस


क्लिकमान्डु