उद्योग परिसंघले अर्थमन्त्री महरालाई भन्योः तरलता समस्या समाधान गर्नुहोस



 

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उप–प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरासँग बैकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानको लागि आग्रह गरेको छ ।

परिसंघको प्रतिनिधि मन्डलले वित्तीय प्रणालीमा हाल देखा परेको तरलताको समस्या समाधान गर्न अर्थमन्त्री समक्ष नीतिगत सुझाव प्रस्तुत गरेको छ। परिसंघले यसभन्दा अगाडि विज्ञप्ती जारी कर्जा पुँजी निक्षेप अनुपात(सीसीडी रेसियो)लाई ८० प्रतिशतबाट ८५ प्रतिशत पु¥याउन माग गरेको थियो ।

२०७३ असोजदेखि प्रारम्भ भएको तरलता अभावले हाल बैकिङ क्षेत्रबाट नयाँ कर्जा प्रवाह हुन नसकेको, पुराना कर्जाको ब्याजदर बढ्दै गएको, रकमको अभावले सन्चालन भईरहेका परियोजनाको निर्माण कार्य समेत रोकिन गएको, बढ्दो ब्याजदरले नेपालको औद्योगिक क्षेत्रको लागत बढेकोले यसको असर उपभोक्तामा पर्न जाने भएकोले यथाशिघ्र यसलाई सम्बोधन गर्न सरकारबाट सुधारात्मक कदम चाल्नु पर्ने कुरामा प्रतिनिधी मन्डलले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

कर्जाको बढ्दो ब्याजदरले नेपाली उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, आयात बढ्ने, लगानीमा गिरावट आउने, निर्यातमा असर पर्ने र रोजगारीका अवसरहरु घटेर अर्थतन्त्र संकुचन हुन सक्ने विश्लेषण गर्दै प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी तरलता प्रवाह गर्ने विविध उपायहरु पनि सरकारसमक्ष पेश गरेको छ ।

परिसंघको ज्ञापनपत्र बुझ्दै उप–प्रधान तथा अर्थ मन्त्री महराले नेपाल उद्योग परिसंघबाट प्राप्त सुझावहरु विभिन्न आयामबाट विश्लेषण गरी उपयुक्त नीतिगत व्यवस्था गर्न मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।


क्लिकमान्डु