राष्ट्रिय गौरबका आयोजनाको विकास खर्चको अबस्था लज्जास्पद




काठमाडौं । राष्ट्रिय गौरबका आयोजनामै बिकास बजेट खर्चको अबस्था कमजोर देखिएको छ । ती आयोजनाले छुट्टयाइएको बजेटको निकै कम मात्रै खर्च गरेका छन् ।

मंगलबार अर्थमन्त्रालयले आयोजना गरेको पूँजीगत (बिकास) बजेट खर्चको मध्यबधी समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अर्थसचिब डा. शान्तराज सुबेदीले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय गौरबका आयोजनाको पूँजीगत बजेट खर्चको अवस्था दयनीय रहेको जानकारी दिए ।

सचिब डा. सुबेदीका अनुसार बुढीगण्डकी जलविद्युत आयोजनाले विनियोजित बजेटको ०.४७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । सो आयोजनाको लागि ५ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा २ करोड ५२ लाख रुपैयाँ मात्रै खर्च भएको हो ।

भेरी बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले २.७४ प्रतिशत, पोखरा क्षेत्रीय विमानस्थल आयोजनाले शुन्य र दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाले शुन्य प्रतिशत रकम खर्च गरेका छन् ।

यस्तै दोस्रो अन्तराष्ट्रिय बिमानस्थल आयोजना निजगढले एक रुपैयाँ पनि बजेट खर्च गर्न सकेको छैन । सो आयोजनाको लागि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा अहिलेसम्म १ रुपैयाँ पनि बजेट खर्च नभएको हो ।

पशुपति क्षेत्र विकास कोषले भने विनियोजित बजेटको करिब ३१ प्रतिशत बजेट खर्च गरेको छ । कोषको लागि ४० करोड ७५ लाख रुपैयाँ पूँजीगत बजेट छुट्टयाइएकोमा १२ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।

लुम्बिनी विकास कोषले विनियोजित बजेटको २३.१८ प्रतिशत खर्च गरेको छ । कोषको लागि ६६ करोड रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएकोमा १५ करोड २९ लाख रुपैयाँ खर्च भएको हो ।

राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिले कूल बजेटको १९.३५ प्रतिशत बजेट खर्च गरेको छ । समितिको लागि १ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ विकास बजेट विनियोजन गरिएकोमा ३६ करोड ४४ लाख रुपैयाँ मात्रै खर्च भएको हो ।

पुस्पलाल लोकमार्गले आफ्नो कूल विकास बजेटको ४५.२६ प्रतिशत बजेट खर्च गरेको छ । सो लोकमार्गको लागि २ अर्ब ८८ करोड ७१ लाख रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएकोमा १ अर्ब ३० करोड ६८ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

राष्ट्रिय गौरबकै अर्काे आयोजना काठमाडौं तराइ फास्ट ट्रयाकले पूँजीगत बजेट खर्च गर्ने सकेको छैन भन्दा पनि हुने अवस्था छ । सो आयोजनाले कूल विनियोजित पूँजीगत बजेटको ०.०५ प्रतिशत मात्रै खर्च गरेको छ । सो आयोजनाको लागि १० अर्ब ८९ लाख रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएकोमा ५२ लाख रुपैयाँ मात्रै खर्च गरिएको छ ।

उत्तर दक्षिण लोकमार्गले आफ्नो पूँजीगत बजेटको ३५.७५ प्रतिशत खर्च गरेको छ । सो आयोजनाको लागि १ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५९ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ ।

हुलाकी राजमार्गको खर्चको अवस्था पनि कमजोर देखिएको छ । सो आयोजनाले आफ्नो पूँजीगत बजेटको १२.६५ प्रतिशत खर्च गरेको छ । हुलाकी राजमार्गको लागि ४ अर्ब २० करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५३ करोड २१ लाख रुपैयाँ खर्च गरिएको छ ।

रेलवे तथा मनोरेल विकास आयोजनाले भने पूँजीगत बजेट राम्रैसँग खर्च गरेको छ । सो आयोजनाले आफ्नो कूल पूँजीगत बजेटको ३४.३१ प्रतिशत खर्च गरेको छ । सो आयोजनाको लागि १ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ६८ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ ।

अर्थसचिब डा. सुबेदीले दिएको जानकारी अनुसार भेरी बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले २.७४ प्रतिशत, पोखरा क्षेत्रीय विमानस्थल आयोजनाले शुन्य र दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाले शुन्य प्रतिशत रकम खर्च गरेका छन् ।

यो तथ्यांक गत पुस मसान्तसम्मको हो । समग्रमा राष्ट्रिय गौरबका आयोजनाहरुले आफ्नो पूँजीगत बजेटको १३ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको कारण समग्र पूँजीगत बजेट खर्चको अवस्था कमजोर देखिएको सचिब डा. सुबेदीले जानकारी दिए ।

गत पुस मसान्तसम्ममा कूल विनियोजित बजेटको ११.३ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको छ । अर्थले पूँजीगत बजेट खर्चमा तिब्रता ल्याउनको लागि यो कार्यक्रम आयोजना गरिएको सचिब सुबेदीले जानकारी दिए ।


क्लिकमान्डु