पूर्व विश्व धनाड्य एइक बाटिस्टाद्वारा प्रहरी समक्ष आत्मसमर्पण



रियो दि जेनेरो (ब्राजिल) । कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले सोमबार प्रहरी समक्ष आत्मसपर्मण गरेका छन् ।

विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि जेनेरियास्थित विमानस्थलमा ओर्लनुभएपछि उहाँलाई ब्राजिलियाली प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । प्रहरीले पक्राउ परेका बाटिस्टाको स्वास्थ्य अवस्था ठिक भए नभएको सम्बन्धमा स्थानीय अस्पतालमा परीक्षणपछि छानविनका लागि हिरासतमा राखेको छ ।

पक्राउ परेपछि बाटिस्टाले ब्राजिलको टेलिभिजनसँग कुराकानी गर्दै आफूमाथि लगाइएको घुस तथा भ्रष्टाचार आरोपबारे छानबिन गर्न अदालतलाई सहयोग गर्ने उद्देश्यले आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको बताए । बाटिस्टाले आफूमाथि लागेको आरोपका बारे भने थप केही बोल्न चाहेनन् ।

बाटिस्टाले आफूमाथि लगाइएको आरोप छानबिन गर्न न्यायालयलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलबाट रियोका लागि आइतबार राति आएको टेलिभिजनसँगको कुराकानीमा बताएका थिए ।

बाटिस्टामाथि रियो दि जेनेरियोका पूर्व गभर्नर सर्जियो कावरलाई घुस दिई सरकारी ठेक्कापट्टामा कानुन विपरित सम्झौता गरेको, विदेशी बैंक खातामा करोडौँ अमेरिकी डलर लुकाई राखेकोलगायत आरोप छन् । रासस/एपी


क्लिकमान्डु