राष्ट्र बैंकले अरुण फाइनान्सलाई समस्याग्रस्तको सूचिबाट हटायो



काठमाडौं । सुनसरीको धरानमा मुख्य कार्यालय रहेको समस्याग्रस्त अरुण फाइनासन्स राष्ट्र बैंकको सञ्चालक समितिले  समस्याग्रस्तको सूचिबाट हटाएको छ । फाइनान्स हाथवे इन्भेष्टमेन्टले खरिद गरेको हो ।  नियामक नेपाल राष्ट्र बैंकले हाथवेलाई अरुण फाइनान्स किन्न स्वीकृति दिएको छ ।

बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले  अरुण फाइनान्सलाई समस्याग्रस्तबाट हटाएको राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डितले क्लिकमाण्डूलाई जानकारी दिए ।

फाइनान्समा संस्थागत सुशासनको अवस्था कमजोर भएपछि राष्ट्र बैंकले ०७१ माघ १२ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त घोषणा हुँदाखेरी फाइनान्सले १५ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । हाल फाइनान्ससँग ४ करोड ३ लाख रुपैयाँ निक्षेप र ५ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह छ ।
फाइनान्समा १३ जना कर्मचारी कार्यरत छन् । बैंकको खराब कर्जा ९८ प्रतिशत छ ।

समस्याग्रस्तबाट हटेपछि अरुण फाइनान्सले नयाँ निक्षेप लिन र कर्जा प्रवाह गर्न पाउने छ । केन्द्रीय बैंकले यसभन्दा अगाडि नयाँ लगानीकर्ता आएपछि जनरल फाइनान्सलाईपनि समस्याग्रस्तको सूचिबाट हटाएको थियो ।

फाइनान्सको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । जसमध्ये ९९ प्रतिशत भन्दा बढी प्रमोटर सेयर स्वामित्व आफूहरुले किनेको हाथवे इन्भेष्टमेन्टका अध्यक्ष अम्बिका पौडेलले क्लिकमाण्डूलाई बताए ।

‘यो फाइनान्सलाई राम्रो बनाएर सञ्चालन गर्ने उद्देश्यले हामीले किनेका हौं, दुई हप्ताभित्र नयाँ व्यवस्थापनले नयाँ तरिकाले कम्पनीको कारोबार सुरु गर्छ,’ पौडेलले भने ।

पौडेलका अुनसार आथवेले अरुण फाइनान्सको ९ लाख कित्ता प्रमोटर सेयरमध्ये ८ लाख ९४ हजार कित्ता सेयर स्वामित्व खरिद गरेको हो ।


पुष्प दुलाल