एक कित्ता सेयरको मूल्य २५ करोड !



काठमाडौं । तपाईलाई थाहा छ, एक कित्ता सेयरको मूल्य कतिसम्म पर्ला ? नेपालको कुरा गर्ने हो भने युनिलिभर ३० हजारको हाराहारीमा हुँदा अति महंगो भयो भनेर तपाई/हामी त्यसको सेयर नै किन्दैनौं ।

त्यसैले तपाईँलाई लाग्न सक्छ, करोडौं हालेर त कसले एककित्ता सेयर किन्ला र ? तर, संसारमा यस्ता कम्पनी छन् जसको एक कित्ता सेयर किन्न तपाईँले २५ करोड रुपैयाँसम्म खर्च गर्नुपर्छ ।

तपाईँलाई लाग्दो हो यति महंगो सेयर विश्व पुँजी बजारका बादशाह बारेन बफेटले किनेका होलान् । तर, पत्याउनहोस् यस्ता महंगा सेयरसँग बफेटको कुनै साइनो छैन । वर्कसायर हाथवे बफेटको कम्पनी हो । जसको प्रतिकित्ता सेयरको मूल्य २ लाख ४३ हजार अमेरिकी डलर अर्थात २ करोड ४३ लाख नेपाली रुपैयाँ पर्छ ।

वर्कसायर हाथवेको सेयर मूल्य विश्वकै महंगा सेयरको सूचीमा तेस्रो स्थानमा मात्रै पर्छ । पहिलो र दोस्रो महङ्गो सेयर त ल्याटिन अमेरिकाका साना सेयर बजारमा कारोबार हुने गर्छन् । चीलीको ‘बोस्ला डि कोमेर्सियो डि सान्टियागो’ भन्ने कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ लाख अमेरिकी डलर अर्थात २५ करोड नेपाली रुपैयाँ पर्छ ।

त्यस्तै, अर्जेन्टिनाको ‘मर्काडो डि भ्यालोरेस अर्जेन्टिना’ भन्ने कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ लाख अमेरिकी डलर अर्थात २१ करोड नेपाली रुपैयाँ पर्छ । यी सेयर यतिधेरै महङ्गो हुनुको मूख्य कारण भनेको बजारमा आपुर्ति एकदमै कम भएर हो । अब भने स्थितिमा केही परिवर्तन आउनेवाला छ ।

३ बर्षअघि परिवर्तन गरिएको नियमअनुसार सो अर्जेन्टाइन कम्पनीको १ कित्ता सेयर हुनेले अब २ लाख ५० हजार कित्ता सेयर पाउँनेछन् । अर्थात्, सेयर ‘स्पिल्ट’ गरिने छ । साथै चिलियन कम्पनीको पनि ४८ कित्ता सेयरलाई ४ करोड ८० लाख टुक्रामा बाँड्ने जनाएको छ । यी आकाश छुने सेयर मूल्यले कम्पनीको सही मूल्याङकन भने गर्दैन ।

चिलियन कम्पनीको बजार पूँजीकरण जम्मा १२ करोड २० लाख अमेरिकी डलर छ भने अर्जेन्टिाइन कम्पनीको बजार पूँजीकरण ३८ करोड ३० लाख अमेरिकी डलर छ । जबकी बफेटको बर्कसायर हाथवेको बजार पूँजीकरण भने ४०० अर्ब डलर छ ।


पुष्प दुलाल