एनसीसी बैंकले १२० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत व्याज दिने



काठमाडौं । एनसीसी बैंकले वाणिज्य बैंकहरुमध्ये निक्षेपकर्तालाई सबैभन्दा बढी व्याज दिने निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले १ सय २० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत व्याज दिने भन्दै सार्वजानिक सूचना प्रकाशित गरेको छ ।एनसीसी बैंकबाट १२ प्रतिशत व्याज पाउन ग्राहकले १ लाख रुपैयाँ निक्षेप राख्नै पर्ने बैंकको शर्त छ ।

यो सँगै बैंकले निक्षेपकर्ताहरुलाई अर्को आकर्षक सुविधाको पनि घोषणा गरेको छ । जसमा निक्षेपकर्ताले आफ्नो निक्षेपको ९० प्रतिशतसम्म कर्जा लिन पाउने छन् । बैंकले त्रैमासिकरुपमा व्याज भुक्तानी गर्ने जनाएको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) को कमी भएपछि निक्षेप आकर्षित गर्न बैंकहरुले धमाधम व्याजदर बढाइरहेका छन् ।
खासगरी नयाँ र चुक्ता पुँजी कम भएका वाणिज्य बैंकहरुमा यतिबेला तरलताको अभाव देखिएको छ । केहीसमय अघि १११ दिनको मुद्दति निक्षेपमा जनता बैंकले ११.१ प्रतिशत व्याज दिने भन्दै सूचना प्रकाशित गरेको थियो ।
त्यसैगरी, जनता, मेगा र सेञ्चुरी लगायतका बैंकहरुले पनि निक्षेपकर्तालाई अधिकतम व्याज दिने घोषणा गरिसकेका छन् ।

कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्नका लागि बैंकले निक्षेपकर्तालाई आकर्षक निक्षेप दिने घोषणा गरेको हो । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुले ८० प्रतिशत सीसीडी रेसियो कायम गर्नै पर्ने हुन्छ ।

थप कर्जा प्रवाह गर्न सक्ने अवस्था नभएको भन्दै बैंकहरुले सीसीडी रेसियो खुकुलो बनाउन राष्ट्र बैंकसँग आग्रह गरिरहेका थिए । बैंकहरुको मागमा राष्ट्र बैंकका केही उच्च अधिकारीहरु पनि सहमत थिए ।

तर, सोमबार आइएमएफको आर्टिकल फोर मिसनमा आएको आइएमएफको टोलीले सीसीडी रेसियो नचलाउन राष्ट्र बैंकलाई सुझाब दिएको छ । बरु सीसीडी रेसियो हटाएर कर्जा निक्षेप अनुपात (सीडी) रेसियो कायम गर्न आइएमएफको सुझाब छ । सीसीडी रेसियोलाई सीडी रेसियो बनाउने हो भने ८८ प्रतिशत हुन आउँछ ।

पछिल्ला केही महिनामा बैंकहरुले निक्षेप संकलन भन्दा बढी कर्जा प्रवाह गरिरहेका छन् । जसले बैंकिङ प्रणालीमा तरलताको जोखिम अझ बढाएको हो ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामा बैंकहरुले ६२ अर्ब रुपैयाँ कर्जा थपेका छन् भने ४४ रुपैयाँ निक्षेप थपेका छन् । हाल बैंकहरुको कूल निक्षेप १९ खर्ब ७ अर्ब रुपैयाँ र कर्जा १५ खर्ब ९० अर्ब रुपैयाँ छ ।

 


पुष्प दुलाल