सबै कर्मचारी फेरेर भन्सार सुधार गर्न अर्थमन्त्रीको निर्देशन



काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरैकर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् ।

एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने आफूले सुनेको उल्लेख गर्दै अबदेखि त्यसो नगर्न मन्त्री महराले निर्देशन दिए ।

‘एउटा कर्मचारी एक बर्षभन्दा बढी त्यहाँ राख्न भएन,’ भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर भने ।

वर्षौदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ गरिरहरको गुनासो आएपछि अर्थमन्त्रीको ध्यानाकर्षण भएको हो ।

आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भएपनि, भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले निर्देशन दिएका हुन् ।

भन्सार बिभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्युटीमा रहेका कर्मचारीहरुलाई तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाटनै चुस्त दुरुस्त सेवा दिने बिषयमा योजना बनाइरहेको बताए ।


पुष्प दुलाल