यसैवर्ष राष्ट्रिय बाणिज्य बैंकको ३० प्रतिशत आइपीओ टुंगो लाग्ने



काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले निष्कासन गर्ने भनिएको ३० प्रतिशत साधारण सेयरको विषयमा यो वर्षभित्रमा टुंगो लाग्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले चालु अर्थिक वर्षको अन्त्यसम्ममा सेयर निष्कासनको विषय टुंगो लाग्ने जानकारी दिए ।

बैंक स्थापनाको ५४ वर्ष पुरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सेयर निष्कासनको बारेमा अर्थमन्त्रालयमा प्रस्ताव रहेको र छिटो यस बारेमा निर्णय हुने बताएका हुन् ।

दुई वर्ष अघि सेयर निष्कासनको प्रक्रिया शुरु भएपनि अर्थमन्त्रालयले एउटा पूर्णसरकारी लगानीको बैंक चाहिने भन्दै आइपीओ निष्कासन प्रक्रिया तत्कालको लागि रद्द गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधरणको लागि छुट्यापर्ने व्यवस्था गरेको छ । सरकारी बैंक भएको कारण वाणिज्य बैंकले छुट पाएको छ ।

‘अर्थमन्त्रीज्यू बाणिज्य बैंकको अवलोकनमा आउदा हामीले आइपिओ निष्कासनको बारेमा जानकारी गराएका थियौ, यो वर्ष सबै प्रक्रिया टुंगाउने तयारी हाम्रो रहेको छ,’ श्रेष्ठले भने ।

स्थापनाको ५४ वर्ष पुरा गरेको बैंकमा सबैभन्दा बढी निक्षेप रहेको छ । बैंकको पुस मसान्तसम्ममा १ खर्ब ३८ अर्ब रहेको छ भने कर्जा लगानी ९३ अर्ब रुपैयाँ छ । बैंकले सो अवधिमा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ ।

अरु बैंक तथा वित्तीय संस्थालाई कर्जा विस्तारका लागि कठिनाई भएपनि बैंक भने तरलताको स्थितिमा सहज अवस्था छ । बैंकको सीडी रेसियो ६६ प्रतिशत रहेको छ ।

बैंकले अर्थमन्त्रालयको निर्देशन बमोजिम सम्बृद्ध नेपालको लागि दीगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्नको लागि ७५ जिल्ला भित्र शाखा विस्तार गर्ने जनाएको छ । बैंकले यो वर्ष ५ लाख नागरिकलाई वित्तीय साक्षरता अभियानमा सरिक बनाउने र २ लाख नयाँ खाता खोल्ने लक्ष्य राखेको छ ।


पुष्प दुलाल