लक्ष्यभन्दा ३५९ प्रतिशत बढी लागतमा तयार भयो धरहराको ‘कन्सेप्चुअल प्लान’



काठमाडौं । ०७२ बैशाखको विनासकारी भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि ६१ लाख रुपैयाँ खर्च गरेर ‘कन्सेप्चुअल प्लान’ तयार भएको छ ।

धरहराको डिजाइन तयार गर्न नेपाल टेलिकमले नियुक्त गरेको परामर्शदाता केजले कन्सल्टले कन्सेप्चुअल प्लान तयार गरेको हो ।

केजले यही माघ २६ गते विस्तृत डिजाइन सार्वजानिक गर्ने भएको छ । डिजाइन तयार पार्न ६० लाख ९० हजार रुपैयाँ खर्च भएको केजले जनाएको छ । जुन लक्ष्यभन्दा ३ सय ५९ प्रतिशतले बढी हो ।

थप गरिएको टक्सार र हुलाकको जमिनमाथि नयाँ डिजाइन बनाएकाले लागत पनि ३५९.२६ प्रतिशत महंगो भएको केजले जनाएको छ ।

यसअघि केजले १६ लाख ९५ हजार रुपैयाँमा धरहराले चर्चेको ६ रोपनीमा धरहरा बनाउन विस्तृत डिजाइन तयार पारेको थियो । अहिले थप गरिएको टक्सार र हुलाकको जमिनमाथि नयाँ डिजाइन बनाएकाले लागत पनि ३५९.२६ प्रतिशत महंगो भएको केजको दाबी छ ।

अब थपिएको २३ रोपनी ४ आना २ पैसा २ दामसमेत जोडेर २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा धरहराको पुनर्निर्माण हुने भएको छ ।

०७२ बैशाख १२ गतेको विनाशकारी भूकप्मबाट ऐतिहासिक महत्वको धरहरा ध्वस्त भएको थियो । नयाँ बन्ने धरहरा पूर्णरुपमा भूकम्प प्रतिरोधी हुनेछ ।

सरकारले पुरानो धरहरको भग्नावषेशलाई भूकम्प स्मृति पार्कको रुपमा संरक्षण गर्ने गरी धरहराको निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिइसकेको छ ।

टेलिकमले ३ अर्ब रुपैयाँको लागतमा धरहरा पुनर्निर्माण गर्दैछ । टेलिकमले बनाउने धरहरा सुविधासम्पन्न ११ तलाको हुनेछ ।

टेलिकमले विजनेश मोडालिटी अन्र्तगत निर्माण गर्न लागेको धरहरामा २ तले पार्किङ, म्युजियम, थ्रिएटर, गार्डेनलगायतका संरचना रहने छन् । नयाँ बन्ने धरहरामा लिफ्ट पनि हुने बताइएको छ ।

बुट मोडेलमा निर्माण हुने धरहरा नेपाल टेलिकमले २५ वर्षपछि सरकारलाई हस्तातरण गर्ने पुरातत्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पद घिमिरेले क्लिमाडूलाई बताए ।


पुष्प दुलाल