कसले बनाउँदै छ सेयर बजारलाई जुवा घर ?



पछिल्ला बर्षहरुमा नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताको ओइरो लागेको छ । निष्कृय बनेर बसेका पुराना लगानीकर्ता पनि जुर्मुराएका छन् । घर, कार्यालय, चिया पसलदेखि बाटोघाटोमा समेत सेयर बजारको चर्चा छ ।

तर सेयर बजारलाई लिएर जुनरुपमा लगानीकर्ता हौसिएका छन्, त्यही स्तरमा उनीहरु कम्पनी र बजार बारे आधारभुत जानकारी राख्छन् त ? भन्ने प्रश्न भने निकै गंभीर छ । सँगसँगै आफुले दैनिक चर्चा गर्ने बजारलाई कसरी लिन्छन् वा कत्तिको सम्मान गर्छन् भन्ने पनि छ ।

जग्गा किन्नु, घर बनाउनु जस्ता कामले आम मानिसको जिवनमा ठूलो अर्थ राख्छ । जिवन भरको मिहेनत र कमाई लाग्ने हुनाले यो स्वभाविक पनि हो ।

जब मानिस घर बनाउनका लागि जग्गा हेर्न जान्छ, तब उसले धेरै कुराको ख्याल राख्ने गर्छ । जग्गाको प्लट मिलेको छ कि छैन, इनार वा धारो खन्दा पानी निस्कने कत्तिको संभावना छ । घाम छेकिन्छ कि, छिमेक कस्ता छन् यस्तै यस्तै । अझ परम्परागत मान्छे छ भने बास्तु वा ज्योतिषको पनि हेक्का राख्छन् । साथीभाई, आफन्त र बुज्रुकका सर-सल्लाह लिने कुरा त छदँैछ । यसले के अर्थ राख्छ भने मानिसले जग्गा किनेर घर बनाउने कुरालाई निकै महत्व र सम्मान गर्छ ।

हार र जित भनेको त जुवा र खेलकुदमा मात्र हुन्छ । लगानीकर्ताकै दिमागको कुनै कुनाले सेयरबजारलाई जुवाघरको रुपमा लिन्छ भने बजारको बिकास कसरी संभव छ ?

तर, रोचक कुरा के छ भने मानिस आफूले दुख गरेर कमाएको पैसाले सेयर किन्दा भने यति धेरै सोच्दैन । कसैले भन्देको भरमा अथवा आफ्नो अल्पज्ञानकै भरमा लगानी गर्ने उल्लेख्य लगानीकर्ता छन् नेपाली सेयर बजारमा । यो विभिन्न अध्ययन तथा अनुसन्धानहरुले देखाएको तथ्य हो ।

सेयर किन्न झुम्मेका लगानीकर्तालाई आफुले किन्दै गरेको कम्पनीको नाफा, नोक्सान, बृद्धि, क्षमता आदिका बारे केहि पनि जानकारी नहुनु अनौठो होइन नेपाली सेयर बजारमा ।


बास्तवमा कुनै कम्पनीको सेयर किन्नु भनेको सो कम्पनीको एउटा हिस्सा किन्नु हो । तर, सामान्य लगानीकर्ताले यो तथ्य आत्मसात गरेको पाईंदैन । उनीहरुको आफुले किन्ने कम्पनीप्रति खासै चासो रहेको पाइँदैन ।

विश्वका महान लगानीकर्ता वा बिकसित बजारका सामान्य लगानीकर्ताले समेत सेयर किन्नु अघि गर्ने बृहत अध्ययनले यो तथ्यको थप पुष्टि गर्छ । उनीहरु कम्पनीका वित्तीय बिवरण देखि बृहत् आर्थिक अवस्था र कम्पनीको ब्यवस्थापन र संचालकका बारे घण्टौं अध्ययन गर्ने गर्छन् । भनिन्छ, बिश्वकै महान् लगानीकर्ता वारेन बफेटसमेत यस्ता बिभिन्न सामाग्री समेटिएका दैनिक ४ सय पेज जति अध्ययन गर्ने गर्छन् ।

भाषा सोचको अभिव्यक्ति हो । भाषाले नै बिषयबस्तुप्रति सोचको गंभीरता र सघनता प्रतिबिम्बित गर्ने गर्छ । त्यसैले अब लगानीकर्ताले प्रयोग गर्ने भाषा तिर लागौं ।

ब्रोकरको कार्यालयको ट्रेडिङरुममा लगानीकर्ताहरु, ‘मलाई यो कम्पनीको सेयर लिइदिनुस्’ नभनी, ‘यो सेयर खाइदिनुस’ भन्ने गर्छन् । त्यस्तै, कसैलाई कुनै कम्पनीको सेयर किन्न सुझाव दिनु परे, ‘यो सेयर किन्नुस्, जित्नुहुन्छ’ भन्ने गर्छन् ।

बास्तवमा सेयर खाने भनेको के हो ? सेयरमा त लगानी गर्ने हो नि । एउटा कुनै कम्पनीको हिस्सा किनी सो कम्पनीको नाफा र घाटामा भागीदार हुने गम्भीर काम हो नि । आफ्नो दुःख गरेको पैसा लगानी गर्दा किन यस्तो हल्का भाषाको प्रयोग गर्ने ?

अझ जित्नु भन्ने शब्दको प्रयोगले त जुवा घरलाई प्रतिबिम्बित गर्दैन र ? हार र जित भनेको त जुवा र खेलकुदमा मात्र हुन्छ । लगानीकर्ताकै दिमागको कुनै कुनाले सेयरबजारलाई जुवाघरको रुपमा लिन्छ भने बजारको बिकास कसरी संभव छ ?

अझ सेयर बेच्दा त एक कदम अघि बढेर ‘यो सेयर फाल्दिनुस्’ भनेको सुनिन्छ । आफ्नो घर, जग्गा वा आफ्नो लगानी गरेको कुनै मुल्यवान् वस्तु बेच्दा ‘फाल्दिनुस्’ भनेको सुनिन्छ ? यदि सुनिंदैन भने सेयरबजारमा मात्र यस्ता हल्का र आफ्नै लगानीप्रति गैर जिम्मेवार शब्दको प्रयोग किन ?

पछिल्ला दिनहरुमा नेपाली सेयर बजारलाई अझ बिकसित र बिस्तारीत गर्न लगानीकर्ता आन्दोलनमा छन् । नेपाली सेयर बजारलाई बिकसित गर्न कानुनी, नीतिगत र प्राविधिक सुधारका कामहरु गर्न अझै बाँकी नै छ । नेपाली सेयर बजार समग्र अर्थतन्त्रको ऐना बन्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने दिन आउान अझै बाँकी नै छ । यसमा सरकार र नियामक निकायको भूमिका महत्वपूर्ण हुन्छ ।

तर, कुनै पनि सेयर बजारको मुटु भनेको आम लगानीकर्ता नै हो । नियामक निकायले जतिसुकै बजारलाई चुस्त बनाए पनि आखिर बजार धान्ने भनेको लगानीकर्ताले नै हो ।

त्यसैले बजारको दिगो बिकासका लागि लगानीकर्ता पनि आफ्नो लगानीलाई लिएर गंभीर बन्नुपर्छ । र, यो गंभीरता उनीहरुले गर्ने अध्ययन र अनुसन्धानमा झल्किनु पर्छ । सेयर बजारलाई जुवा घर बन्नबाट रोक्न पनि आम लगानीकर्ताले आफ्नो चेतना उकास्नै पर्छ ।


पुष्प दुलाल