नेपालमा यसकारण महंगो हुदैछ अमेरिकी डलर



 

काठमाडौं । बिदेश जाने प्रयोजनको लागि नगद अमेरिकी डलरको खोजिमा हुनुहुन्छ ? हो भने अब डलर साट्दा अहिलेको भन्दा बढी नेपाली रुपैयाँ तिर्नुपर्नेछ ।

अमेरिकी डलर विश्वब्यापी रुपमै महंगो हुने भएको कारण यस्तो हुन लागेछ भन्ने अनुमान गर्दै हुनुहुन्छ भने तपाइ गलत हुनुहुन्छ । नेपाली मुद्रासँग अमेरिकी डलरको विनिमय दर अहिलेको जति नै भएपनि अबको केही दिनभित्रमा नै नगद डलर महंगो हुँदैछ ।

नेपाल राष्ट्र बैंकले नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न लागेको कारण महंगो पर्ने भएको हो । विनिमय दरको कारण तय हुने मूल्यको अतिरिक्त नगद डलर लिनेले प्रतिडलर ३० पैसा बढी रकम तिर्नुपर्ने छ । अर्थात अमेरिकी डलर प्रतिडलर ३० पैसा महंगो हुदैछ ।

बैंकहरुले सर्बसाधारणलाई नगद अमेरिकी डलर दिदा प्रतिडलर ३० पैसा बढी लिन पाउने ब्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले जानकारी दिए ।

‘बैंकहरुले दिने विभिन्न प्रकारका विद्युतीय कार्ड लिनुहुन्छ भने विनिमयद दर अनुसारकै रकम तिर्दा हुन्छ, नगद डलर नै लिने हो भने प्रतिडलर ३० पैसाको दरले थप रकम तिर्नुपर्ने हुन्छ,’ कार्यकारी निर्देशक ढुंगानाले क्लिकमाण्डूसँग भने ।

नगद डलरको प्रयोग कम गर्नको लागि बैंकहरुलाई ‘क्यास ह्याण्डलिङ चार्ज’ लिन पाउने ब्यवस्था गरिएको उनले जानकारी दिए । सोही कारण नगद डलर महंगो पर्ने भएको हो । यस्तो चार्ज प्रतिडलर ३० पैसा निर्धारण गरिएको उनले जानकारी दिए ।

केही समय अघि नेपालमा नगद डलरको चरम अभाब भएपछि राष्ट्र बैंकले नगद प्रयोग कम गर्ने विकल्पको खोजी थालेको थियो । अभावकै कारण केही साता अघि राष्ट्र बैंकले सिंगापूरबाट १ करोड अमेरिकी डलर नगद ल्याएको थियो ।

नगद डलरको अभाब भएपछि केही बैंकहरुले विदेशबाट नगद ल्याउनको लागि राष्ट्र बैंकसँग अनुमति मागेका थिए । यसरी नगद डलर ल्याउदा प्रतिडलर ५० पैसा थप शुल्क लिन पाउनु पर्ने प्रस्ताब बैंकहरुको थियो ।

बैंकहरुले थप ५० पैसा मागेको भएपनि राष्ट्र बैंकले ३० पैसा दिने निर्णय गरेको हो ।

तर यस्तो थप शुल्क लिदा नेपालमै संकलन भएको र विदेशबाट ल्याएको डलर छुट्टयाउन कठिन हुने र बजारमा दुईथरी दर कायम हुने भन्दै राष्ट्र बैंकले ‘क्यास ह्याण्डलिङ चार्ज’ लिने ब्यवस्था लागू गर्न लागेको छ ।


क्लिकमान्डु