१००० र ५०० दरका भारु साट्न भारत सशर्त तयार




काठमाडौं । भारतले नेपालीसँग भएको हजार र ५ सय दरको नोट साट्न शर्त राखेको छ । नेपालीसँग भएको सो दरका नोट मात्रै साटिदिने र सोको ग्यारेन्टी नेपालले गर्नुपर्ने भारतले शर्त राखेको हो ।

नेपालीसँग रहेका सो दरका नोट साट्ने ब्यवस्था मिलाउने बारे भारतीय अधिकारीसँग छलफल गर्न गएको नेपाली प्रतिनिधिमण्डलाई भारतीय पक्षले यस्तो प्रस्ताव गरेको हो ।

नेपालीसँग भएका सो दरका नोट साट्न भारत तयार भएको र यसको लागि आवश्यक परे भारतीय प्रतिनिधिमण्डल नेपालमै आएर छलफल गर्न तयार भएको भारत जाने टोलीका एक सदस्य भिष्मराज ढुंगानाले जानकारी दिए ।

‘नोट प्रतिबन्धको उदेश्य कालोधनमाथिको नियन्त्रण थियो, भारतीयसँग भएको अबैध कालोधन नेपाल आउदैन र नेपालीसँग भएको नोट मात्रै सटही हुन्छ भन्ने आधार तयार भए साटिदिने भारतीय पक्षले जानकारी दियो,’ नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक ढुंगानाले क्लिकमाण्डूसँग भने ।

भारतबाट फर्केको टोलीका सदस्यहरुले दिएको जानकारी अनुसार नेपालीसँग भएका हजार र ५ सय दरका नोट साट्न कुनै समस्या नभएको भारतीय पक्षको भनाइ छ । तर अबैध कालोधन भएका भारतीयले खुल्ला सिमाना र बहुसम्बन्धको दुरुपयोग गरी सोझा नेपाली प्रयोग गरेर त्यस्तो धन पनि साट्न सक्ने खतराप्रति भारतीय पक्षले बढी चिन्ता जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले भारतीय अधिकारीलाई नेपालमा भएका भारु साट्ने मोडालिटी बुझाएका थिए । नेपाल राष्ट्र बैंकले तयार पारेको सो मोडालिटीबारे भारतस्थित नेपाली दुताबास र नेपालस्थित भारतीय दुताबास समेत जानकार थियो ।

नेपालले बुझाएको मोडालिटीमा नेपालीसँग भएका प्रतिब्यक्ति २५ हजार भारुसम्मका सो दरका नोट बैंक तथा वित्तीय संस्थामा जम्मा पार्ने, त्यस्ता संस्थाले जम्मा भएको रकम नेपाल राष्ट्र बैंकलाई बुझाउने र राष्ट्र बैंकले भारतीय केन्द्रीय बैंक (आरविआइ) लाई बुझाउने थियो । यसरी रकम प्राप्त भएपछि आरविआइले सो रकम राष्ट्र बैंकलाई दिने, राष्ट्र बैंकले नेपाली विनिमयदर अनुसार सो रकम बैंक तथा वित्तीय संस्थालाई दिने र बैंक तथा वित्तीय संस्थाहरुले सो रकम सम्बन्धित ब्यक्तिको खातामा जम्मा पार्ने मोडालिटी थियो ।

तर यो माडालिटीमा भारतीय पक्ष सन्तुष्ट नभएको संकेत नेपाली प्रतिनिधिले गरेका छन् । भारतीय पक्षले अर्काे प्रभावकारी र विस्तृत मोडालिटी मागेको कार्यकारी निर्देशक ढुंगानाले जानकारी दिए ।

‘हामीले एउटा मोडालिटी बुझाएका थियौं, उहाँहरु (भारतीय पक्ष) ले अर्काे प्रभाबकारी मोडालिटी बनाऊँ, यसको लागि आवश्यक पर्छ भने हाम्रो प्रतिनिधिमण्डल पनि नेपाल आएर उच्च अधिकारीसँग छलफल गर्न तयार छ भन्नुभयो,’ ढुंगानाले भने ।

भारतीय पक्षको यस्तो भनाइ पछि राष्ट्र बैंकले विस्तृत मोडालिटीको गृहकार्य थालेको छ । यस्तो मोडालिटी सकेसम्म यही साता भारत पठाउने गृहकार्यमा राष्ट्र बैंक जुटेको छ ।

भारतीयसँग भएको कालोधन नेपाल आएर साटिने खतरा नहुने गरी मोडालिटी तयार पार्न लागिएको छ । यसको लागि नेपाल र भारतका सरकारी उच्च अधिकारीले छलफल गर्नुपर्ने आवश्यकता देखिएको टोलीमा सहभागी अर्का एक सदस्यले जानकारी दिए ।

‘बैंकमा नोट जम्मा पार्नको लागि निश्चित समय दिने र सो समयमा नेपाल भारत सीमामा निगरानी गर्नेसम्मको अवस्था आउछ सक्छ, तर दुई देशका सरकारी उच्च अधिकारी बसेर मोडालिटीलाई अन्तिम रुप दिने भएकोले यसै भन्न सकिँदैन,’ टोलीमा सहभागी अर्का एक सदस्यले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु