नार्कबाटै हराए २ सयभन्दा बढी बैज्ञानिक




काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट २ सयभन्दा बढी बैज्ञानिक बेपत्ता भएका छन् । जागिर खाएको ३ बर्षपछि अध्ययनका लागि विदेश जान पाउने सुविधा भएकोले त्यस्ता बैज्ञानिक नार्कबाट बेपत्ता हुने गरेका हुन् ।

नार्कमा जागिर खाएकामध्ये अहिलेसम्ममा २ सयभन्दा बढी बैज्ञानिक नार्कबाट बेपत्ता भएको प्रवक्ता बाबुराम पौडेलले जानकारी दिए ।

‘नार्कमा जागिर सुरु गरेको ३ वर्षपछि अध्ययनका लागि विदेश जान पाउँछने ब्यवस्था छ, यही प्राबधान टेकेर विदेश गएका बैज्ञानिक फर्कदैनन्,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

नार्कले हालै मात्र आफ्नो कार्यालयबाट बेपत्ता भएका ९ जना कर्मचारीलाई सम्पर्कमा आउन सार्वजनिक सुचना प्रकाशित गरेको छ ।

कार्मचारीहरु अध्ययनका लागि विदेश जाने र काममा नफर्केको नौलो नभएको प्रवक्ता पौडेलले बताए । अध्ययनका लागि यूरोप र अमेरिका बाहेकका देशमा जाने कर्मचारीहरु भने काममा फर्कने गरेको उनले बताए । तर आकर्षक कमाइ हुने गरेका युरोप अमेरिका जस्ता देशमा पुगेका ९० प्रतिशतभन्दा बढी बैज्ञानिक भने नफर्कने उनको भनाइ छ ।

विदा लिएर काममा नर्फेका कर्मचरीहरुलाई काममा फर्कनका लागि पहिलो चरणमा ७ दिने सूचना प्रकाशित गरेर जानकरी दिइने गरिएको छ । त्यस पछि पनि सम्पर्कमा नआएमा १५ दिने सूचना प्रकाशित गरेर जागिरबाट बर्खास्त गरिने उनले जानकारी दिए ।

कीट विज्ञान महाशाखा खुमलटारमा कार्यरत बैज्ञानिक (एस.१) रामेश्वर मर्हजन २०७१ फागुन १९ देखि २०७२ फागुन १८ गतेसम्म असाधारण बिदामा रहेका थिए । तर उनी हालसम्म पनि कार्यालयमा उपस्थित भएका छैनन् ।

कीट विज्ञान महाशाखा, खुमलटारमा कार्यरत बैज्ञानिक (एस.१) सिद्धीजिवन भुषाल २०६७ साउन ९ गते देखि २०७० साउन ८ गते ३ वर्ष र थप २ वर्ष अध्ययन बिदा २०७० साउन ९ गते देखि २०७२ साउन ८ सम्म लिएका थिए । उनी पनि विना जानकारी कार्यालय उपस्थित भएका छैनन् ।

राष्ट्रिय गहूँबाली अनुसन्धान कार्यालय, भैरहवामा कार्यरत बैज्ञानिक (एस.१) रमेशराज पुरी २०७२ मंसिर ११ गतेसम्म विदा स्वीकृत गराई बसेका थिए । उनी २०७२ मंसिर १२ गतेदेखि पेश्की विरामी विदा माग गरी निरन्तर अनुपस्थित रहदै आएका छन् ।

कृषि इञ्जिनियरिङ्ग महाशाखा, खुमलटारमा कार्यरत वरिष्ठ प्राविधिक अधिकृत (टि.७) रवीजी रसाइली २०६५ भदौं १६ देखि २०६९ साउन १६ सम्म अध्ययन विदा र २०६९ कात्र्तिक ३ गते घर विदा लिएर गएका थिए । उनी हालसम्म पनि कार्यालयमा कुनै जानकारी नदिइ बेपत्ता छन् ।

कोसेवाली अनुसन्धान कार्यक्रम, खजुरा बाँकेमा कार्यरत प्राविधक अधिकृत (टि.६) रमेश ढकाललाई कार्यलयले २०६७ जेष्ठ १८ देखि २०७० जेष्ठ १७ सम्म अध्ययनमा पठाएको थियो । अध्ययन पछि २०७० जेष्ठ १८ गते उपस्थित हुनु पर्नेमा उनी हालसम्म सम्पर्कमा आएका छैनन् ।

कृषि इञ्जिनियरिङ्ग महाशाखा, खुमलटारमा कार्यरत प्राविधिक सहायक सुजन पराजुली २०७२ कात्र्तिक १ गतेदेखि विना सूचना निरन्तर अनुपस्थित रहदै आएका छन् ।
बाली रोग विज्ञान महाशाखा, खुमलटारका प्राविधिक सहायक संगम उच्चै राई २०७१ बैशाख १३ गतेदेखि बिना सूचना अनुपस्थित रहदै आएका छन् ।

बाली रोग विज्ञान महाशाखा, खुमलटारमा कार्यरत वैज्ञानिक युवराज कडेल २०६५ पुस २१ गते देखि २०७० पुस २० गतेसम्मका लागि अध्ययन विदामा थिए । तर उनी हालसम्म पनि कार्यालय उपस्थित भएका छैनन् ।

सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा, खुमलटारमा कार्यरत वैज्ञानिक सन्तोष न्यौपाने २०७० साउन ११ सम्म विदा लिएर कार्यालयबाट हिडेका थिए । उनी पनि हालसम्म निरन्तर अनुपस्थित रहदै आएका प्रवक्ता पौडेलले जानकारी दिए ।


क्लिकमान्डु