तरलता अभाव हटाउन २० अर्बको रिपो, आज न्यून आवेदन परेपनि, आइतवार पुनः १० अर्बको रिपो



काठमाडौं । बजारमा देखिएको लगानी योग्य रकम(तरलता) अभाव हटाउन राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रवार तरलता अभाव भएपछिको ठूलो रकमको रिपो जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले ४.८७ प्रतिशत ब्याजदरमा रिपो खरिद गरेर तरलतालाई व्यवस्थापन गर्न सक्ने छन् । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले तरलता अभावलाई हटाउनको लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्न लागिएको क्लिकमाण्डूसँग बताए ।

‘रिपोले बैकिङ क्षेत्रमा देखिएको तरलता अभाव हट्ने छ, तरलता सहज बनाउन रिपो सहयोगी हुने देखिन्छ,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

केन्द्रीय बैंकले तरलतालाई व्यवस्थापन गर्नको लागि रिपो र रिभर्स रिपो जारी गर्ने गर्छ । बजारमा तरलता पठाउन रिपो तथा तरलता झिक्नको लागि रिभर्स रिपो जारी हुने गर्छ ।

यसै बिच नेपाल राष्ट्र बैंकले पुनः आइतवार १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । आज जारी भएको २० अर्बको रिपोमा न्यून आवेदन परेपनि केन्द्रीय बैंकले फेरी १० अर्ब रुपैयाँको रिपो ल्याउन लागेको हो ।


पुष्प दुलाल