आरबीआईले राष्ट्र बैंकलाई भन्यो- १०० दरका १ अर्ब भारु लिन आउनोस्



काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले राष्ट्र बैंकलाई १०० रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबरका भारु नोट दिने भएको छ ।

गत कात्तिक २३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका भारु नोट प्रतिबध्न लगाएपछि आरबीआइले आफ्नो देशको नोट व्यवस्थापन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकलाई साना दरका भारु नोट दिन आनाकानी गर्दै आएको थियो ।

जसकारण भारतमा उपचार गर्न लगायत विभिन्न काममा जाने नेपालीहरुलाई राष्ट्र बैंकले आवश्यक परेजति रकम दिन सकिरहेको थिएन ।

आरबीआईले साना दरका के कति नोट उपलब्ध गराउने भन्ने बारे जनवरीमा जवाफ दिने बताएको थियो । पूर्वप्रतिवद्धताअनुसार नै आरबीआइले जनवरी २ मा राष्ट्र बैंकलाई तत्कालै १ अर्ब भारु दिने भन्दै पत्र पठाएको हो ।

‘ठूला दरका भारु नोटमा प्रतिबन्ध लगाएसँगै आरबीआइले साना दरका भारु नोट पनि दिएको थिएन, ३ दिनअघि मात्रै आरबीआइले १ अर्ब नोट लिन आउनुभन्दै पत्र पठाएको छ,’ राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डितले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकसँग अहिले ३ अर्ब रुपैयाँ बराबरको भारु सञ्चिति भएको र आरबीआइले नदिएको खण्डमा पनि आगामी ३ महिना कुनै समस्या नहुने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

सामान्य अवस्थामा राष्ट्र बैंकले दैनिक २ करोड रुपैयाँ भारु सटही गर्ने गरेकोमा अहिले १ करोड रुपैयाँ मात्रै सटहीको सुविधा उपलब्ध गराउँदै आएको राष्ट्र बैंकको बैंकिङ कार्यालयका कार्यकारी निर्देशक जनक अधिकारीले जानकारी दिए ।


पुष्प दुलाल