राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने



काठमाडौँ । नयाँ राहदानी आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।

सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ सेवाको मंगलवार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरे ।

राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले भौतिकरुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । राहदानी लिन चाहनेले ती दस्ताबेजबाहेक अन्य सबै काम एप्सबाटै गर्न र हेर्न सक्नेछन् । राहदानीका निम्ति प्रत्यक्ष दर्ता प्रणालीमा जानुपूर्व सेवाग्राहीले त्यसो गर्नुपर्नेछ । रितपूर्वक फाराम भरी पठाएका सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् ।

उक्त बारकोड लिएर सेवाग्राही राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जानसक्नेछन् । पहिलो चरणमा विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै विभागमा गरेको छ ।

मोबाइल एप्स नेपाल पासपोर्ट शुरू गर्दै मन्त्री महतले अत्याधुनिक प्रविधिको उपयोग गरी सेवाग्राहीलाई सरल एवम् सहज ढङ्गले द्रूतगतिमा सेवा प्रवाह गर्न सरकार क्रियाशील रहेको बताए ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जनमुखी सेवालाई मन्त्रालयले जोड दिएको बताउँदै भविष्यमा एप्स सेवालाई देशभर लागू गर्ने योजना रहेके जानकारी दिए ।रासस


क्लिकमान्डु