बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त



काठमाडौं । सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा चिरञ्जीबी चापागाईँलाई नियुक्त गरेको छ ।
गत बिहीबारकै मितिमा आज (सोमबार) मुख्यसचिव डा. सोमलाल सुवेदीले चापागाईँलाई समितिको अध्यक्षमा नियुक्ति गरेको माइन्यूटमा हस्ताक्षर गरेका हुन् ।

मन्त्रिपरिषदको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र प्रधानमन्त्री प्रचण्डबीच डा.रविन्द्र घिमिरे वा चिरञ्जीबी चापागाईँमध्ये कसलाई अध्यक्ष बनाउने भन्ने विवाद भएपछि सो दिन निर्णयको माइन्यूट हुन सकेको थिएन ।

गत बिहीबारकै मितिको मन्त्रिपरिषदको निर्णयअनुसार चापागाईँलाई समितिको अध्यक्षमा नियुक्त गरिएको अर्थमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले क्लिकमाण्डूलाई जानकारी दिए ।

यही पुस ७ गते ४ वर्षे कार्यकाल पुरा गरी डा. फत्तबहादुर केसी बाहिरिएपछि बीमा समितिमा नयाँ अध्यक्ष नियुक्ति गरेको हो ।

माफी माग्छौं

यसअघि क्लिकमाण्डूले डा. रविन्द्र घिमिरेलाई बीमा समितिको अध्यक्ष नियुक्ति गरेको भन्ने समाचार प्रकाशित गरेको थियो । मूख्य सचिव डा. सोमलाल सुवेदीले मन्त्रिपरिषदले घिमिरेलाई समितिको अध्यक्ष बनाउने निर्णय गरेको तर माइन्यूटमा हस्ताक्षर हुन बाँकी भएको बताएपछि त्यसैका आधारमा हामीले समाचार बनाएका थियौं ।

माइन्यूटमा हस्ताक्षर नभइसकेको अवस्थामा र कसलाई नियुक्ति गर्ने भन्ने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच विवाद भएका कारण यस्तो अवस्था आएको हो । अर्थमन्त्री घिमिरेलाई नै अध्यक्ष बनाउन चाहन्थे भने प्रधानमन्त्री प्रचण्ड सकेसम्म तेस्रो व्यक्ति नभएपनि घिमिरेको विकल्पमा चापागाईँलाई अध्यक्ष बनाउन चाहन्थे ।

प्रधानमन्त्रीको दबाबमा नै घिमिरेको नाम लेखिएको ठाउँमा सच्याएर चापागाईँको नाम लेखी मुख्यसचिव डा. सुवेदीलाई माइन्यूटमा गर्न हस्ताक्षर लगाइएको हो । प्रधानमन्त्रीय पद्दतिमा मन्त्रिपरिषदबाट प्रधानमन्त्रीले आफ्नो चाहाना अनुसारका निर्णय गराउन सक्छन् ।

डा. घिमिरेको नाम माइन्यूटमा लेखिसकेको भन्ने मुख्यसचिव डा. सुवेदीको ‘कोट’ नै राखेर समाचार सम्प्रेषण गरेका थियौं । स्रोतलाई विश्वास गर्दा कहिलेकाहीँ पत्रकारितामा गलत सूचनाहरु पनि सम्प्रेषण हुन्छन् । सो समाचार गलत पुष्टि भएकाले क्षमा माग्दै आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्दछौं । हामीले लेखेको समाचारले डा. रविन्द्र घिमिरेमाथि पर्न गएको असरप्रति पनि हामीले माफी माग्नै पर्छ ।

बीमा समितिको अध्यक्ष नियुक्ति सम्बन्धी हामीले सम्प्रेषण गरेका समाचारहरु

बीमा समितिका नवनियुक्त अध्यक्षले भने- सरोकारवालासँग छलफल नगरी नयाँ लाइसन्सबारे निर्णय गर्दिनँ

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे नियुक्त

प्रधानमन्त्रीको हस्तक्षेपपछि बीमा समिति अध्यक्ष नियुक्ति रोकियो 


पुष्प दुलाल