नक्कली जग्गाधनी बनेर अर्कोको जग्गा बेच्न पक्राउ



चितवन । नक्कली जग्गाधनी बनेर अरुको जग्गा बिक्री गर्ने ३ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङका ४८ वर्षीय देबेन्द्र थापा र झापा जिल्लाका ४६ वर्षीय नगेन्द्र कार्की मंसिर ३० गते इटहरी र खोटाङ घर भएका मिनबहादुर भट्टराइलाई प्रहरीले ललितपुरको लगनखेलबाट पक्राउ गरेको हो ।

उनीहरुले ०६६ सालमा चितवन भण्डारा निवासी लोकेन्द्र राज पाठकको ३ बिगाह १ कठ्ठा ५ धुर जग्गा नक्कली जीवनराज पाठक खडा गरि किनेका थिए ।

उनीहरुले मालपोतका कर्मचारीसँग मिलेर पाठकको नागरिता र जग्गा धनी पुर्जा कीर्ते गरेर उक्त जग्गाको कुल मुल्य १ लाख रुपैयाँ राखेर नक्कली पाठकलाई बेजिल्ले खडागरि काठमाडौंको डिल्लीबजार मालपोतबाट पास गराएका थिए ।
बेजिल्ले पास भएपछि सो कागजात मालपोत कार्यालयका कर्मचारी वा हुलाकबाट जग्गा भएको मातपोत कार्यालय चितवन पठाउनुपर्ने थियो ।

तर, सो गिरोहले उक्त सक्कल कागजातहरु मालपोत कार्यालयमा बुझाउने गरी आफ्नो जिम्मामा लिई १ लाख रुपैयाँमा पास भएको जग्गाको अगाडि २ अंक थपी २१ लाख जग्गाको मुल्य बनाई चितवन मालपोत कार्यलयमा पेश गरी निज नक्कली पाठकको नाममा उक्त जग्गा दाखिला खारेज गरेका थिए ।

त्यही जग्गा पुन नक्कली पाठकले मकवानपुरको नेचुरल फ्लावर एण्ड हर्बल कम्पनीलाई उनीहरुले बिक्री गराएका थिए ।

हर्बल कम्पनीले जग्गा खरीद पछि हिमालय बैंकमा धितो राखेर ५ करोड कर्जा लिएको थियो । कम्पनीले त्यस जग्गा र ३ काठमाडौंको ३ वटा घर धितो राखेर प्राईम बैंकबाट ८ करोड ऋण लिएको खुल्न आएको प्रहरी उपनिरिक्षक मिरा चौधरीले बताइन् ।

घटनाको थप अनुसन्धान कार्य भइरहेको र घटनामा संलग्नहरुको खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।


पुष्प दुलाल