आजदेखि काठमाडौं र पोखरामामा फोरजी सेवा, नयाँ सिमकार्डमा मात्रै चल्ने



काठमाडौं । सरकारी स्वामित्वको दुरसञ्चार कम्पनी नेपाल टेलिकमले काठमाडौं र पोखरामा आजदेखि फोरजी सेवा सञ्चालन गर्ने भएको छ ।

टेलिकमले आइतबार विशेष कार्यक्रमको आयोजना गरेर फोरजी सेवाको औपचारिक सुरुवात गर्दै छ । नेपालमै पहिलोपटक आजदेखि परिक्षणका लागि टेलिकमले फोरजी सेवा सञ्चालन गर्न लागेको हो ।

फोरजी सेवा सञ्चालनका लागि उपकरण तथा सफ्टवेर जडान र सिष्टम अपग्रेडलगायत काम पूर्णरुपमा सकिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

बैद्यकाअनुसार पहिलो चरणमा उपत्यकाका काठमाडौं, भक्तपुर तथा ललितपुर र पोखारको शहरी इलाकामा फोरजी सेवा सञ्चालन हुनेछ ।

हाल टेलिकमसँग १८ सय ब्याण्डविद रहेको र त्यसमध्ये १५ मेगाहर्ज फोरजीका लागि छुट्याइसकेको बैद्यले जानकारी दिइन् ।

हालका लागि सोही १५ मेगाहर्ज फ्रीक्वेन्सीबाट फोर जी सेवा सुरु गरिने छ । कम्पनीले हालको फ्रिक्वेन्सीमा ३२.४ एमबीपीएस गतिको फोरजी इन्टरनेट सेवा उपलब्ध गराउनेछ ।

हाल टेलिकमले १ रुपैयाँ प्रतिएमबीपीएस (डाटा प्याकेजबाहेक) थ्रीजी इन्टरनेट उपलबध गराउँदै आएको छ ।

टेलिकमका पुराना सिम कार्डमा फोरजी चल्ने छैन । कम्पनीले पछिल्लो समयमा वितरण गरेका युनिभर्सल सिमान मात्रै फोरजी चल्नेछ । टेलिकमका ग्राहकले पुरानो सिम कम्पनीसँग साटेर फोरजी चलाउन सक्नेछन् । थ्रीजी भन्दा फोरजीमा इन्टरनेटको गति ५० गुणा छिटो हुने टेलिकमले जनाएको छ ।

अन्तराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटीयू)ले तोकेको मापदण्डअनुसार, मोबाइलमार्फत् दिइने १ सय एमबीपीएस गतिमा चल्ने इन्टरनेसहितको सेवालाई फोरजी मानिन्छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई पुस १७ गतेदेखि फोरजी सञ्चालको अनुमति दिएको थियो ।

तर, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायकले फोरजी सञ्चालका लागि प्राधिकरणका आवेदन दिएपनि प्राधिकरणले एनसेललाई अहिलेसम्म फोरजी सेवा सञ्चालनको अनुमति दिएको छैन ।


पुष्प दुलाल